पोखरामा दुखद घटना–बिहे गरेको पाँच दिनमै सिउँदो पुछियो

पोखरा, बैशाख १० ।
पोखरा–७ मासबार निवासी सिर्जना राउतले बिहेको खुशी यति चाँडै बिलाउला भन्ने सपनामा पनि सोचेकी थिइनन् । बिहे गरेको पाँचौ दिनमा म्याग्दे १ गुणादीमा भएको मोटरसाइकल दुर्घटनामा परी उनको पति पोखरा महानगर–३३ का ३१ बर्षिय सन्दीप कुँवरको निधन भएको हो ।

दुर्घटनामा परी सिर्जनाको घुँडा भाँचिएको छ । उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा पवन पौडेलले लेखेका छन् ।

उनको अवस्थामा सुधार आए अझै चिन्ताजनक रहेको प्रहरीको भनाई छ । सिर्जनालाई सानिमाको घर दमौली घुमाएर पोखरा छाडेर आफू काठमाडौं काममा जाने तयारीमा थिए, सन्दीप ।

सन्दीप सवार मोटरसाइकल बसमा ठोकिनुमा सडकको खाल्डाखुल्डी कारक रहेको ट्राफिक प्रहरीको ठम्याई छ । ‘सडकमा खाल्डाखुल्डी हुँदा मोटरसाइकल नियन्त्रणमा आउन सकेन र जोगिन खोज्दा बससँग ठोकिएको देखिन्छ,’ ट्राफिक प्रमुख पूर्णबहादुर अधिकारीले भने ।

तनहुँको पृथ्वी राजमार्गका विभिन्न भागमा सडकमा स–साना खाल्डाखुल्डी धेरै भागमा छन् । शुक्लागण्डकी नगरपालिकाको हलेदीदेखि कोत्रेसम्मको सडकको अवस्था पनि बिग्रिएको छ ।