पोखराको जिरोमा आइल्याण्ड भत्काइयो

पोखरा, असोज १ ।
पोखराका आइल्याण्ड भत्काउन थालिएको छ । आइल्याण्ड भद्दा र ठूलो हुँदा ट्राफिक जाम र दुर्घटनाको जोखिम समेत बढ्न थालेपछि पोखरा लेखनाथ महानगरपालिका, सडक विभागसहितको सरोकारवालाको बैठकले आइल्याण्ड घटाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार, शनिबार पोखरा जिरोकिलोमिटरको आइल्याण्ड भत्काइएको हो ।
ट्राफिक, सडक डिभिजन कार्यालय, पोखरा लेखनाथ महानगरपालिका कार्यालयसहितको रोहवरमा आइल्याण्ड भत्काइएको सडक डिभिजन कार्यालयका सिनियर सुपरभाईजर रमेशराज पौडेलले बताए । आइल्याण्ड भत्काइए पनि त्यहाँस्थित योगेन्द्रमान शेरचनको शालिक भने भत्काउन बाँकी छ । उक्त शालिकलाई नयाँ बन्ने शालिकको उत्तरपट्टीको भागमा राखिने पौडेलले बताए ।
आइल्याण्डमा रहेका बिजुलीका पोलहरुलाई समेत अन्यत्र ब्यवस्थापन गरिने बताइएको छ । विद्युतको पोल ब्यवस्थापनको लागि विद्युत कार्यालयमा खबर गरिएको र १–२ दिनमै व्यवस्थापन गर्ने जानकारी गराएको पौडेलको भनाइ छ ।
त्रिकोण आकारको आइल्याण्ड भत्काएपछि अब त्यहाँ तीनवटा च्यानल आईल्याण्ड निर्माण गरिने पौडेलले बताए । जसले ट्राफिक जाम कम गर्नुका साथै दुर्घटना पनि न्यूनीकरण गर्ने उनको दाबी छ ।
जिरोकिलोमिटरबाट आईल्याण्डको रिसाईजिङ अभियान शुरु गरिएको र अब सबैभन्दा ब्यस्त र ट्राफिक जाम हुने पृथ्वीचोकको आइल्याण्ड पनि भत्काएर त्यसको आकार घटाइने भएको छ ।
पृथ्वीचोकको आइल्याण्ड ४ मिटरमा घटाउन यसअघि नै सडक डिभिजन कार्यालय अन्तर्गतको ‘रोड एण्ड ट्राफिक युनिट’ले सुझाव दिइसकेको छ । सोही अनुसार काम शुरु गरिने महानगरपालिकाले जनाएको छ ।