पोखराको खानेपानी मुहानमा पहिरो, पानी वितरणमा समस्या

पोखरा, भदौ २२ ।
पोखराको खानेपानीको मुख्य श्रोत मर्दी खोलाको जलाधार क्षेत्रमा पहिरो गएको भन्दै खानेपानी संस्थाले पोखरामा पानी आपुर्ति कम गरेको छ । पहिरोका कारण खोलामा लेदो बगेको र लेदो पानी प्रयोग नगरिएका कारण आपुर्तिमा समस्या आएको संस्थानले जनाएको छ ।

संस्थानका प्रमुख निरन महर्जनले पानी वितरणमा असहजता हुन सक्ने भन्दै धैर्य रहन उपभोक्तालाई आग्रह गरेका छन् । ‘मर्दीखोलाको जलाधार हुम्दी, सैंतीघट्ट लगायत क्षेत्रमा पहिरो झरेको छ । यसले खोलामा पनि लेदो बगेको छ, फेसबुकमा स्टाटस लेख्दै उनले भने–पानी अत्यधिक धमिलो भएका कारण पानी उत्पादन गरिएको छैन । केही दिन वितरण असहज हुने भएकोल ग्राहकहरुमा पर्ने असुविधाप्रति क्षमाप्रार्थी छौं ।’

पोखराको मुहान खुला खोलाबाट ल्याईने भएकोले थिग्रयाउने प्रविधि छैन । जसका कारण खोलामा बगेको पानी सामान्य प्रशोधन गरेर उपभोक्ताको धारामा पठाईन्छ । महर्जनले भनेजस्तो अहिले पहिरो नझरेको स्थानीयले बताए । ‘हप्तादिन अगाडी रिभानबाट अलिअलि लेदो आएको हो । खोलामा पानी धमिलो चाहीँ छ, ति स्थानीयले भने–पानी छानेर पठाउन अल्छि गरेर खोलालाई दोष थुपारियो ।’ पोखराको रिभानमा अघिल्लो बर्ष पहिरो गएको थियो ।