पेस्तोल लिएर पोखरा आउन लाग्दा समातिए शुक्ला, किन ल्याउँदै थिए पोखरामा पेस्तोल ?

पोखरा, असार ५ ।
पेस्तोल लिएर पोखरा आउन लाग्दा भारको उत्तर प्रदेशका उमेश शुक्ला भैरहवाबाट समातिए । लखनउदेखि गोरखपुरसम्म आफ्नै गाडीमा आएका उनी त्यहाँबाट भाडाको गाडी लिएर भैरहवा आएका थिए । त्यहाँबाट प्लेन चढेर पोखरा आउन लाग्दा विमानस्थलबाट शुक्लालाई पक्राउ गरिएको हो ।

भारतको उत्तर प्रदेशका उमेश शुक्ला मंगलबार नेपालको पर्यटकीय नगरी पोखरा आउदै थिए । उनी तीन दिन पोखरा बस्ने योजनामा थिए । उनका लागि एउटा चारतारे होटलमा कोठा बुक थियो । भैरहवा आएर सोमबार राती रुपन्देहीको सियारीस्थित टाईगर प्यालेस होटलमा बसे ।

उनीसँगै श्रीमती साधना, तीन छोरीहरु अञ्जली, कानन र श्रेष्टा तथा दुई वर्षीय नातिनी आब्या पनि सँगै नेपाल आएका थिए । एक दिन भैरहवामा बिताएका उनी मंगलबार परिवारसहित गौतम बुद्ध विमानस्थल पुगे । बुद्ध एयरको उडानबाट उनी पोखरा जाने तयारीमा थिए। टिकट पहिलै बुक थियो ।

विमानस्थलमा चेक इन हुने क्रममा उनी पक्राउ परे । झोला चेकजाँचका क्रममा प्रहरीले उनको साथबाट चेकोस्लाभियामा निर्मित अत्याधुनिक पेस्तोल, दुई थान म्यागजिन र १६ थान गोली भेट्टायो । झोलामा रहेको पेस्तोल बकेटमा थियो। दुबै म्यागजिनमा गोली लोड थिए ।

‘हतियारसहित पक्राउ परेका शुक्ला भारत उत्तर प्रदेशका उच्च तहका व्यापारी भन्ने बुझिएको छ,’ रुपन्देही प्रहरी प्रमुख एसपी हृदय थापाले भने, ‘पेस्तोलको समेत भारतमा लाइसेन्स रहेछ ।’

प्रहरी हिरासतमा रहेका ५० वर्षीय उमेश लखनउ र कानपुरमा केन्द्र बनाएर घरजग्गा र वित्तिय लगानी गर्ने ९ वटा ठुला कम्पनीका लगानीकर्ता हुन् । उनी ती कम्पनीहरुमा निर्देशकको हैसियतमा समेत कार्यरत छन् । उनी निर्देशक रहेको मध्ये एउटा कम्पनी कानपुरमा स्थापित भए पनि त्यसको प्रभाव भारतका सबै प्रमुख शहरमा छ ।

‘श्रीमतीलाई सधैँ बोक्ने सुटकेशमा रहेको पेस्तोल निकालेर राख भनेको थिएँ भन्ने बयान दिएका छन्,’ एसपी थापाले भने ‘उनले पैसा निकालीन पेस्तोल निकालिनन् भन्ने बयान दिएका छन् ।’ उमेश लखनउस्थित लखनउ ग्रामका स्थायी बासिन्दा हुन् । उनी मनि क्यापिटल्समा सन २००२ देखी पूर्णकालीन निर्देशक छन् ।

उत्तरप्रदेश राज्यको औद्योगिक शहर कानपुरमा ११ जनवरी १९८४ मा स्थापना भएको मनी क्यापिटल्सको चर्चा सिंगो भारतभरि हुने गर्छ । एक समय अण्डर वल्र्ड डन बब्लु श्रीवास्तवसँग समेत जोडिएको यो गैर नाफामुलक कम्पनीमा कार्यरत उमेशले ब्यक्तिगत सुरक्षाका लागि अनुमति लिएर पेस्तोल बोक्ने गरेको प्रहरी बयानमा खुलाएका छन् ।

प्रहरीले उनले भारतबाट पेस्तोल राख्न पाएको अनुमति पत्र लगायत अन्य प्रमाण झिकाएको छ । प्रहरी अनुसन्धानमा उनी सपरिवार घुमघामका लागि पोखरा जाँदा झोलामा रहेको पेस्तोल थाहा नपाई ल्याएको पत्याउन सकिरहेको छैन । उनी पेस्तोल कुन प्रयोजनका लागि पोखरा लिएर जाँदै थिए भन्ने खोतल्न अनुसन्धान केन्द्रित छ ।

नेपालखवरकाे सहयाेगमा