पाकिस्तानका दुई वटा कोइलाखानीमा विस्फोट, १६ जनाको मृत्यु
पोखरा, बैशाख २३ ।
पाकिस्तानका दुई वटा कोइलाखानीमा भएका छुट्टाछुट्टै विस्फोटमा कम्तिमा १६ जनाको मृत्यु भएको छ । क्वेटाबाट लगभग ४० किलोमिटर टाढा मारवारमा भएको ग्यास विस्फोटमा कम्तिमा १२ जना मजदुरको मृत्यु भएको छ । त्यहाँ अझै कम्तिमा चार जना मजदुर अझै फसेका छन् । उद्दारकर्मीहरुले उनीहरुलाई निकाल्ने प्रयास गरिरहेका छन् ।
त्यसैगरी स्पिन करिजको खदानमा भएको अर्को विस्फोटमा परेर मृत्यु भएका चार जनाको शव निकालिएको छ । अधिकारीहरुले सो स्थानमा अझै केही कामदार फसेको आशंकामा खोजी भइरहेको जनाएका छन् । घटनामा केही मजदूर घाइते भएको र उनीहरुको उपचारका लागि अस्पताल भर्ना गरिएको बताइएको छ ।(एजेन्सी)