पसल फोडेर प्याज र लसुन चोरी
नयाँ दिल्ली, मंसिर १२ ।
दक्षिण एसियाका देशमा प्याजको मूल्यले आकाश छोएको छ । खासगरी नेपाल, भारत र बंगलादेशमा प्याजको मूल्य छोइनसक्नु भएको छ । मूल्य बढेकै कारण उपभोक्ताहरुले भान्सामा प्याजको उपयोग कम गर्दै लगेका छन् । तर, भारतमा एउटा यस्तो घटना भएको छ, जहाँ चोरले पसल तोडेर प्याज चोरी गरेका छन् ।
पसलमा नगद र अन्य मूल्यबान चिजहरु पनि थिए । तर, चोरले भने लसुन र प्याज मात्रै चोरे । घटना भारतीय राज्य पश्चिम बंगालको पूर्व्मिदनापुरको हो । जहाँ एउटा चोरले तरकारी पसल तोडेर प्याज र लसुन चोरेर लगेका छन् ।
पसलका सञ्चालक अजय दासले सोमबार राति आफ्नो पसलबाट करिब ५० हजार रुपैयाँ बराबरको प्याज र लसुन चोरी भएको भन्दै स्थानीय प्रहरीमा उजुरी दिएका छन् ।
चोरले पसल नै तोडफोड गरे पनि नगद र अन्य मूल्यबान सामग्री भने चोरी नगरेको दासले बताएका छन् । भारतमा प्याजको मूल्य बढ्दै गएपछि सरकारले प्याजमा कोटा निर्धारण गरेको छ । जसका कारण अहिले पसलबाट प्याज चोरी हुने घटना बढिरहेका छन् ।