निजी कम्पनीलाई जग्गा दिन गाउँकै उठिबास लगाउँदै पोखरा विमानस्थल, स्थानीय आन्दोलित !

पोखरा, साउन २६ ।
मझेरीपाटन तथा छिनेडाँडा पोखराको पुरानो गाउँमध्ये पर्छ । यो गाउँको कम्तीमा २ सय वर्षको इतिहास रहेको स्थानीय गनेस पौडेलले बताए । ‘छिनेडाँडा र मझेरीपाटन पोखरा उपत्यकाको पुरानो गाउँ हो । यसको २ देखि ३ सय वर्षसम्मको इतिहास छ,’ पौडेलले भने, ‘यति लामो इतिहास बोकेको गाउँको सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक इतिहास पोखरा अन्तराष्ट्रिय एयरपोर्टकै कारण निमिट्यान्न हुने भएको छ ।’

सरकारले फेरि विमानस्थलका लागि जग्गा अधिग्रहण गर्ने भएपछि गाउँकै अस्तित्व मेटिने हो भन्ने डर स्थानीयलाई छ । साविकको छिनेडाँडा गाउँ पञ्चायत वडा नम्बर १ देखि ३ सम्म पर्ने पूर्वतर्फको सिमानाबाट ४ सय मिटर र दक्षिणतर्फको तारबारबाट ४० मिटर दक्षिण पूर्वी क्षेत्रमा एक किलोमिटर अधिग्रहण हुने भएपछि उनी फेरि पनि विस्थापित हुने भएका छन् ।

पोखरा विकासको सांक्षी यो गाउँ सरकारबाटै मासिने संघारमा रहेको अर्का स्थानीय किरण पौडेलले बताए । कतै आफ्नो लोकसंस्कृति, समाजिक, सांस्कृतिक इतिहास नै भावी पुस्ताले जान्न नपाउने त होइनन् भन्ने डर किरणलाई छ ।
विकासविरोधी नभए पनि आफू र आफ्नो इतिहास नै सक्ने गरी हुने विकास मान्य नहुने स्थानीय रामकृष्ण अधिकारीले बताए । ‘हाम्रा पुर्खाले जोगाएको इतिहासमाथि सरकारले धाबा बोल्नमात्रै खोजेको छैन, निमिट्यान्नै पार्न खाज्यो,’ अर्का स्थानीय विवश कुँवरले भने ।

स्वेच्छिक गिरफ्तारीसम्मका संघर्ष
सरकारले पोखरा अन्तर्रा्ष्ट्रिय एयरपोर्टका लागि चाहिनेजति जग्गा अधिग्रहण एकैपटक नगरी पटकपटक स्थानीयलाई विस्थापित गर्ने गरी अधिग्रहण गर्न लागेको भन्दै स्थानीयले संघर्ष समिति गठन गरेका छन् । स्थानीय गनेस पौडेलको संयोजकत्वमा बिहीबार गठित २५ सदस्यीय समितिले विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ ।

समितिले विमानस्थल पोखराका लागि आवश्यक छैन भन्ने क्याम्पेन नै चलाउने भएको छ । विज्ञहरु राखेर बहस चलाउने, विरोध प्रदर्शनदेखि अनसनसम्मका कार्यक्रम समितिले ल्याएको छ । पोखरा एयरपोर्ट निर्माणमा देखिएका अनियमिता, भ्रष्टाचार, आयोजनामा देखिएका विसंगतिको भण्डाफोर आन्दोलन चलाउने बिहीबार बसेको संघर्ष समितिको भेलाले निर्णय गरेको छ ।

मानव अधिकार आयोगमा मुद्दा दर्ता गर्ने, यसअघि गरिएका अधिग्रहणको पुनःमूल्यांकनको माग, रोजगारीको प्रत्याभूति, निर्माणको चरणबाटै हुनुपर्ने, प्रस्तावित एयरपोर्टका कारणले पोखराकै सर्वा्धिक पुरानोमध्येका गाउँ मझेरीपाटन, छिनेडाँडाको आर्थिक, सामाजिक, सांस्कृतिक, भौतिक, आध्यात्मिक, पर्यावरणीय क्षतिको विवरण बनाउन व्यावसायिक शोधकर्तालाई काममा लगाई रिपोर्ट सरकार र मानवअधिकार आयोगमा पेस गर्ने समितिको निर्णय छ ।

समितिको आन्दोलनमा प्रहरी प्रशासनको प्रयोग हुन गएका सम्पूर्ण गाउँलेले महिला, केटाकेटी, बुढाबुढीसहितको स्वेच्छिक गिरफ्तारी दिनेसम्मका विरोधका कार्यक्रम संघर्ष समितिले ल्याएको छ ।–मेरो समय