डम्पिङसाइट नहुँदा तनहुँमा फोहोरको तमासा

तनहुँ, असोज १८ ।
तनहुँको व्यास नगर क्षेत्रमा फोहोर फाल्ने ठाउँ नहुँदा फोहोर ब्यवस्थापनमा समस्या हुन थालेको छ । बढ्दो शहरीकरण र बसाइ सराइँका कारण दमौली बजार क्षेत्रमा दिनहुँ फोहोर थुप्रिएपछि ब्यवस्थापन चुनौतिको बिषय बनेको हो ।
अहिले व्यास नगरपालिकाको फोहोरमैला मादीनदीको किनारमा फाल्ने गरिएको छ । जसका कारण नदीको पानी सहित किनाको बस्तीमा समेत दुर्गन्ध फैलिएको छ ।
जिल्ला वातावरण तथा विपत् व्यवस्थापन समितिका संयोजक मोहनकुमार श्रेष्ठले चाँडै नै फोहोर व्यवस्थापनको समस्या स्थायी रूपमा समाधान हुने बताए । उनले व्यास–५ स्थित टेकनथुम्कीमा फोहोर व्यवस्थापन केन्द्र राख्न स्थानीय विकास मन्त्रालयबाट प्राविधिकसहितको टोली आएर सर्वेक्षण गरेको बताए । ‘केही समयमै फोहोर व्यवस्थापनका लागि केन्द्रबाट आएको टोलीले सर्वेक्षण गर्नेछ र सोहीअनुसार हामी अगाडि बढ्नेछौँ,’ उनले भने ।
बजारको तरकारीमन्डीका फोहोरमैलाजन्य पदार्थ फोहोर फाल्ने ट्र्याक्टर आएपछि मात्रै बाहिर निकाल्न आह्वान गर्ने र सड्ने र नसड्ने फोहोरजन्य वस्तु छुट्याई सोहीअनुरूप व्यवस्थापन गरिने श्रेष्ठले बताए ।