ट्याङ्कर दुर्घटनाका चालक र सहचालकको मृत्यु
काभ्रे, कार्तिक ३० ।
धुलिखेल नगरपालिका–८ थाक्लेस्थित अरनिको राजमार्गमा शुक्रबार बेलुका भएको तेल ट्याङ्कर दुर्घटनामा घाइते भएका चालक राजकुमार लामा र सहचालक कञ्चन लामाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार मकवानपुर जिल्ला हेटौँडा घर भएका ३० वर्षीय चालक लामाको धुलिखेल अस्पतालमा उपचारका क्रममा र मकवानपुर जिल्ला पालुङ घर भएका सहचालक कञ्चन लामाको थप उपचारका लागि नर्भिक अस्पताल लैजाँदै गर्दा शुक्रबार राति बाटोमा नै मृत्यु भएको हो ।
चालक लामाको शव धुलिखेल अस्पतालमा र सहचालक लामाको शव नर्भिक अस्पतालमा नै रहेको प्रहरीले जनाएको छ । धुलिखेलबाट पाँचखालतर्फ जाँदै गरेको ना७ख ३७६० नंको डिजेल बोकेको ट्याङ्कर आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेको थियो ।
ट्याङ्कर दुर्घटना हुँदा घटनास्थल नजीकै बिग्रेको बा२ख ६२५६ नंको यात्रुवाहक बसमा काम गर्ने उदयपुर आँपटार गाविस–१ का सहचालक सोभितबहादुर कटुवाल भने घाइते भई धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । कटुवाल दुर्घटना भएको ठाउँको डिलमा उभिएर बसेको अवस्थामा ट्याङ्करले सोहोरेर लगी घाइते भएको प्रहरीले जनाएको छ ।