जारको पानी पिउँदा होसियार ! पोखराका २ कम्पनीका पानीमा कोलिफर्म भेटियो

पोखरा, साउन २४ ।
पोखरामा थप दुईवटा कम्पनीको पानीमा कोलिफर्म भेटिएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाईमा भएको अनुगमनपछि दुईवटा उद्योगको पानी पिउन योग्य नरहेको भेटिएको हो । अन्नपूर्ण वाटर उद्योगबाट उत्पादन हुने अन्ना र धिताल नेचुरल वाटर उद्योगबाट उत्पादित पानीमा कोलिफर्म देखिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।

पानीमा खरावी देखिएपछि दुवै कम्पनीमा अहिले कारोबार बन्द गरिएको छ । असार २० गते पनि टुडेज पानीमा कोलिफर्म देखिएको थियो । कारोबार बन्द गरेर अहिले टुडेज कम्पनी मुद्धामा तारिख खेपिरहेको छ । ‘बोतलको पानीमा समस्या देखिएन । जतिपनि खरावी छ, सबै जारका पानीमा छन्, उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले भने–खरावीपूर्ण पानी बेच्नेलाई शिल गरेर कारबाही प्रक्रिया प्रशासनले सुरु गरेको छ । मुद्धा फैसला नहुँदासम्म कारोबार गर्न पाउँदैनन् ।’

अरु पानीमा पनि निरन्त अनुगमन भैरहेको उनले बताए । उनका अनुसार पोखरामा बेचिने मध्ये ७ कम्पनीका पानीमा समस्या छैन । ल्याव टेष्ट गर्दा क्रिष्टल, नेशनल, अमृतजल, विन्दास, रेनड्रप्स र स्पा पानी उत्कृष्ट देखिएको कोइराला बताउँछन् ।

पोखरामा पानीमा कैफियतसँग मूल्यमा पनि निकै महंगो छ । ‘काठमाण्डौंमा आजको डेटमा हेर्दा १९ लिटर पानीलाई ४० रुपैयाँ छ, पोखरामा उति नै पानी ७० रुपैयाँ पर्छ, कोइरालाले थपे–पहिले ५० रुपैयाँको जारलाई एकैपटक ४० प्रतिशत बृद्धी गरेर ७० पुर्याईएको छ । यो उपभोक्ता अधिकार विपरित हो ।’ उनले आगामी दिनमा गुणस्तर सँगै मूल्य पनि अनुगमन हुने बताए ।