जन्मथलो पुगेर भावुक भए देवराज

पोखरा, कार्तिक २८ ।
‘म जन्मेको ठाउँ यही हो । ५ सय मिटरमाथी मेरो पूरानो घर छ । मसँगै बाल्यकालमा खेलेका साथीहरु यतै छन् । खुब सम्झिन्छु मेरो गाउँ ।’ चुनावी प्रचारका लागि जन्मगाउँ सिमलटुँडा पुगेका काँग्रेसका प्रतिनिधीसभा सदस्य उम्मेदवार देवराज चालिसेले भावुक हुँदै आफ्ना गाउँलेसँग दुखसुख साँटे । विगत सम्झिए र भविष्यबारे चिन्ता गर्न गाउँलेसँग अनुरोध गरे ।
‘म खेलेको ठाउँ यही हो । बाल्यकाल यहीँ विताएँ । यो माटोको सुगन्ध पनि मलाई थाहा छ, उनले भने–यति नजिकको प्रतिनिधी कहिल्यै पनि पाउनुहुन्न । मन र भावना जोडिएको प्रतिनिधी भएकाले यसपाली मलाई भोट हाल्दिनुहोला ।’ चालिसेले मंगलबार पोखरा १७ को सिमलटुँडामा घरदैलो गरे । ‘जुनसुकै समस्या परेपनि भन्न मिल्छ । त्यति अधिकार तपाईँहरुसँग छ । म प्रतिनिधी होईन तपाईँहरुको भाई छोरो हो, घरदैलोका क्रममा उनले भने–टाढाको प्रतिनिधी होईन नजिकको आफ्नो भाईछोरा खोज्नुपर्ने र रोज्नुपर्ने बेला आयो । त्यसैले रुखमा भोट हाल्दिनुहोला ।’
चालिसेले त्यस क्षेत्रमा विद्यमान सबै समस्या समाधान गर्ने प्रतिबद्धता पनि जनाए । यहाँका अधिकांश नागरिकहरु लालपुर्जा विहिन छन् । त्यसैले बल्लबल्ल बनाएका टहरामा खानेपानी र विजुलीका लाईन पनि जोड्न पाएका छैनन् । घरगाउँ डुलेर चालिसेले भने–कोही पनि नागरिक भूमिहिन बन्नुपर्दैन । हाम्रै अध्यक्ष भएको बेला दिएको जमीन हो । जनतालाई लालपुर्जा पनि हामी दिलाउनेछौं । तर भोट हाल्ने बेला आफ्नो भाग्य र भविष्यलाई हेर्नुहोला ।’
उनले जनतासँग भएको श्रम र समयलाई उच्चतम उपयोग गर्दै रोजगारी सिर्जनामा आफ्नो जोडवल रहने प्रतिबद्धता जनाए । ‘हाम्रा भोटहरुले सपनाको प्रतिनिधित्व गरोस् । हाम्रा प्रतिनिधी इमान्दार बनुन्, सबैको चाहाना त्यही हुन्छ, उनी थप्छन्–सुखद भविष्यको यात्रा गर्ने प्रतिनिधी छान्ने अधिकार तपाईँको हातमा छ । अधिकार सही ठाउँमा प्रयोग गर्नुस्, भविष्यमा दुख भोग्नुपर्दैन ।’ चालिसेले सोमबार पोखरा ११ फुलवारी र काहुँका विभिन्न क्षेत्रहरुका जनतासँग पनि भेटघाट गरेका थिए ।