चोकका शालिक पार्कमा, पार्क बनाउने काम सुरु

पोखरा, पुस २० ।
पोखराका चोकचोकमा रहेका शालिकहरु ब्यवस्थित गर्न पोखरा लेखनाथ महानगरपालिकाले पार्क निर्माणको काम थालेको छ । पोखरा १८ सराङकोट स्थित जामुनेमा पार्क निर्माणको प्रक्रिया सुरु भएको महानगरपालिकाले जनाएको छ । चोकमा भएका आइल्याण्ड र शालिकका कारण ट्राफिक ब्यवस्थापनमा चुनौती बढेको भन्दै आईल्याण्ड घटाउने योजना ३ महिनाअघि देखि सुरु भएको थियो । चोकमा भएका राष्ट्रिय विभुति र शहिदका शालिक भने पार्क निर्माण गरेर ब्यवस्थापन गर्न लागिएको महानगरकी उपमेयर मञ्जुदेवी गुरुङले जानकारी दिईन् । उनका अनुसार पार्क निर्माणका लागि सराङकोटमा ५७ रोपनी जग्गामा गुरुयोजना तयार गरिएको छ ।
महानगरपालिकाले सडक फराकिलो बनाउने अभियान अन्र्तगत असोजमा पृथ्वीचोकमा रहेको लखन थापा, अमरसिंहचोकको अमरसिंह थापा र जीरोकिलोमिटरको योगेन्द्र शेरचनको शालीक हटाएको थियो । हटाईएको शालिक ब्यवस्थापन गर्न उपमेयरसहितको टोलीले विहिबार पार्क निर्माणस्थलको निरीक्षण गरेको छ ।