घाट ठेक्का लाउने पोखरा महानगरको तयारी

पोखरा, साउन ९ ।
आन्तरिक स्रोतको रुपमा रहेका घाटहरु(बालुवा तथा ढुंगा उत्खनन गर्ने) को आर्थिक वर्ष २०७५÷०७६को लागि टेण्डर प्रक्रिया अन्तिम चरणमा पुगेको छ । साविक जिल्ला विकास समितिको मातहतमा रहेको ती घाटहरु यसै आर्थिक वर्षदेखि पोखरा लेखनाथ महानगरपालिकाको स्वामित्वमा आएको हो । टेण्डर आह्वान नहुदाँसम्म महानगरपालिकाले ढाट राखेर प्रति ट्रिप कर उठाउँदै आएको छ । ढाट राखेर कर उठाउन सम्बन्धीत वडाले कर्मचारी खटाएको छ ।

आफनो स्वामित्वमा आएका ३३ वटा घाटहरुको टेण्डर आह्वान गर्ने तयारी गरेको पोखरा लेखनाथ महानगरपालिकाले जनाएको छ । टेण्डर आह्वान पुर्व महानगरपालिकाका इन्जिनियरहरुले नदी एवं खोलाका घाटहरुको उत्खननको लागि प्रारम्भिक बातावरण परीक्षण समेत गरिसकिएको छ । ‘सबै घाटहरुको बातावरणीय परीक्षण गरिसकिएको छ ।’ पोखरा लेखनाथ महानगरपालिकाका इन्जिनियर सोवियत खड्काले भने–‘जिल्ला समन्वय समिति(तत्कालिन जिल्ला विकास समिति)लाई बुझाइएको छ । त्यहाँबाट स्वीकृति भईसकेको छ ।’

बातावरणीय परीक्षण गरेपनि ठेक्का लगाएसकेपछि प्रभावरकारी अनुगमन भने हुन सकेको छैन् । महानगरपालिकाले यो वर्ष ३३ वटै घाटबाट १० करोड भन्दा बढी राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । गत वर्ष जिल्ला विकास समितिले आन्तरिक आम्दानी तर्फ घाट उत्खनन र पटके सवारी करबाट ८ करोड भन्दा बढी रकम संकलन गर्ने लक्ष्य लिएको राखेपनि लक्ष्य पुरा हुन सकेको थिएन् । घाट उत्खनन् बाट मात्रै ७ करोड ३७ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको थियो ।

केही घाटको टेण्डरप्रति खासै चासो नै दिइएको थिएन् । सबैभन्दा महत्वपूर्ण घाटको रुपमा रामघाट रहेको छ । गत वर्ष रामघाटलाई १ करोड ७५ लाखमा टेण्डर खुलाइएको थियो । तर टेण्डरप्रति चासो नदिएपछि पुन दोस्रो पटक घटाएर टेण्डर आह्वान गरिएको थियो । घटाइएको टेण्डर १ करोड २५ लाखको थियो । बातवरणीय परीक्षण अनुसार रामघाटबाट ६६ हजार ८८० घनमिटर उत्खनन गर्न सकिने इन्जिनियर खड्काले बताए । ‘बातावरणीय अध्ययन हुन्छ तर प्रभावकारी अुनगमन नहुदाँ बातावरणीय परीक्षण गरिएको भन्दा बढी उत्खनन गरिन्छ ।’ उनको भनाई थियो । जहाँ वर्षेनी १ लाख घनमिटरसम्म उत्खनन हुने गरेको छ ।

घाटहरु महानगरपालिका आन्तरिक स्रोत भएपनि संरक्षण गर्ने तर्फ ध्यान दिएको छैन् । रामघाट क्षेत्रको सेतीनदीको दुवै किनारमा निर्माण गरिएको शवदहस्थल नदीजन्य बस्तुको बढी उत्खननले भत्किएका छन् । करोडौ रुपैयाँ जुटाएर निर्माण गरिएको शवदहस्थलको लगानी बालुवामा पानी भएको छ । पोखरा लेखनाथ महागरपालिका वडा नं १०का वडाध्यक्ष राजकुमार गुरुङले नदीको कटान र शवदहस्थल संरक्षणको लागि नदी किनारदेखि १० मिटर छोडेर मात्रै उत्खनन दिने सर्तमा टेण्डर गरिनुपर्नेमा जोड दिए ।

‘दशमिटर छोडेर उत्खनन गर्न दिने गरी टेण्डर आह्वान गर्नुपर्छ ।’उनले भने–‘यसले गर्दा शवदहस्थल संरक्षण हुन्छ । नदीको कटान पनि कम हुदै जान्छ ।’ वडाध्यक्ष गुरुङले शवदहस्थल संरक्षणको लागि प्रति ट्रिप १÷२ सय रुपैयाँ उठाउनुपर्ने बताए । रामघाट पोखरा लेखनाथ महागरपालिका वडा नं ९, १० र ११ वडा अन्तर्गत पर्छ । उठाएको पैसाले कटान रोक्न व्यवस्थित सिमेन्ट पर्खाल लगाउन सकिने स्पष्ट पारे । सेती नदीको बैभन्दा फराकिलो र सहज घाटको रुपमा रहेको रामघाट क्षेत्रमा टेण्डरको लागि सबैले चासो दिने गरेका छन् । उत्खनन बढी हुदाँ हिउँदमा पानीको सतहभन्दा मुनिसम्म उत्खनन गर्ने गरिएको पाईन्छ ।

केही घाटहरु विद्यालयले सञ्चालन गर्दै आएका छन् । त्यही घाटको उत्खननबाट निस्किएको बालुवा तथा ढुंगा विक्रीबाट विद्यालय सञ्चालन गरिएको समेत छ । पोखरा लेखनाथ महानगरपालिका कसेरी र तल्लो गोगन गौडास्थित गोगन माविले घाट सञ्चालन गर्दै आएको महानगरपालिकाले जनाएको छ । केही घाट व्यक्तिगत लालपुर्जा भित्र रहेको भन्दै व्यक्तिगत सञ्चालन गर्न पाउनुपर्ने भन्दै निवेदन समेत दिएको महानगरपालिकाका इन्जिनियर खड्काले बताए ।