गोरखामा पौडीखेल्ने क्रममा एकको मृत्यु, दुई वेपत्ता
गोरखा, असार ८ ।
गोरखा जिल्लाको पालुङटार नगरपालिका–१ ठाँटी स्थित दरौदी नदीमा पौडीखेल्ने क्रममा शुक्रवार वेपत्ता भएकी सोही ठाँउ निवासी २० बर्षीया सरिता गुरुङको शव फेला परेको छ ।
उनको शव शनिवार विहान फेला परेको हो । उनीसँगै खोलामा पौडीखेल्न गएका दुई जना अझै वेपत्ता छन् । दरौदी खोलामा पौडीखेल्न गएका पालुङटार नगरपालिका–१ छोप्रोक निवासी १२ बर्षीय अरविन विक र १२ बर्षीय राजन श्रेष्ठ भने अझै वेपत्ता रहेको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।
उक्त स्थानमा प्रहरी परिचालन गरी वेपत्ता विक र श्रेष्ठको खोजि कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ । घटनाको वारेमा प्रहरीले थप अनुसन्धान अगाडि वढाएको छ ।