गाउँलेहरुले आफ्नै लगानीमा निर्माण गरे सडक, गुडन थाल्यो गाडी
ताप्लेजुङ, बैशाख ११ ।
ताप्लेजुङका ग्रामीण क्षेत्रका बासिन्दाले आफ्नै लगानीमा सडक निर्माण गरी यातायातको पहुँचमा र्पुयाएका छन् । जिल्लाको सिरिजंघा र सिदिङ्वा गाउँपालिकाका स्थानीयले आफ्नै लगानीबाट कच्ची सडक निर्माण गरेर गाउँमैमै यातायात र्पुयाएका हुन् । सरकारले गरेको काम सुस्त भएको भन्दै स्थानीयले २०७२ सालबाट एक करोड रुपैयाँ संकलन गरेर सडक विस्तारको काम शुरु गरेका थिए ।
सिरिजंघा गाउँपालिकामा पर्ने आम्वेगुदिनको हप्पुखोलाबाट सुरु गरिएको सडक निर्माणको काम हाल साविकको खेवाङ गाविससम्म पुगेको छ । हप्पुखोलादेखि झन्डै ८ किलोमिटरमा पर्ने सिदिङ्वा गाउँपालिकाको मेहेलेसम्म समुदायको लगानीमा सडकको ट्रयाक खोलिएको र त्यसपछि साविक जिल्ला विकास समिति र स्थानीय तहको झन्डै २ करोड रुपैयाँको सहयोगमा थप बाटो निर्माण भइरहेको छ । सडक निर्माण गर्न स्थानीयले ५ हजार देखि १ लाख रुपैयाँसम्म सहयोग गरेका छन् । सडक निर्माणसँगै साना यातायातका साधन सञ्चालन हुन थालेपछि स्थानीय हर्षित भएका छन् ।