गण्डकीका प्रमुख सचिव खुसुक्क विदेश भ्रमणमा, सरकारले सोध्यो स्पष्टीकरण

पोखरा, मंसिर १९ ।
संघीय सरकारको अनुमतिबिनै विदेश भ्रमणमा गएका गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीराम पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषको कार्यालयले स्पस्टीकरण सोधेको छ । गण्डकी प्रदेशका प्रमुख सचिव पौडेल प्रदेशको मन्त्रिपरिषदको स्वीकृति लिएर विदेश गए पनि केन्द्रको अनुमति नलिएपछि प्रधानमन्त्रीको कार्यालयले उनको भ्रमणमाथि प्रश्न गरेको हो ।

गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीराम पौडेल कात्तिक ३० गतेदेखि मंसिर ६ गतेसम्म चीन भ्रमणमा थिए । क्षमता अभिवृद्धि कार्यक्रममा भाग लिन ५७ वर्षे पौडेल चीनको हाइनान प्रान्त गएका थिए ।

कात्तिक २५ गते गण्डकी प्रदेशको मन्त्रिपरिषद बैठकले पौडेलाई चीन पठाउने निर्णय नै गरेको थियो । देश संघीयतामा गइसके पनि प्रदेशका प्रमुख सचिव, सचिव र कर्मचारीको खटनपटनको जिम्मा केन्द्र सरकारले नै लिएको छ । त्यसो हुँदा प्रदेश सरकारले विदेश पठाउने निर्णय गरे पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको अनिवार्य स्वीकृति लिनुपर्छ ।

प्रमुख सचिव पौडेल प्रदेशको भत्ता लिएर विदेश गएका थिए । तसर्थ उनको भ्रमणबारे प्रदेशका जनता पनि सुसूचित हुनुपर्छ र उनी जवाफदेही भनेर समाधानले उनको प्रतिक्रिया मागेको थियो । तर उनले भने कुनै प्रतिक्रिया नदिने बताए ।

उनले भने, ‘मेरो भन्नु केही छैन । स्पष्टीकरण सोधे पनि मलाई भन्नु केही छैन ।’ धानमन्त्रीको कार्यालयले उनीसहित ३ सचिव र केन्द्रका १८ मन्त्रालयका सचिवलाई विदेश भ्रमणबारे स्पष्टीकरण सोधेको हो ।

प्रधानमन्त्री कार्यालयले गण्डकीका प्रमुख सचिव पौडेलसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारी, खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरलाई पत्र पठाउँदै स्पष्टीकरण सोधेको छ ।

सरकारलाई थाहै नदिई खुसुक्क विदेश जाने क्रम बढेको भन्दै प्रधानमन्त्री कार्यालयले भ्रमणको अभिलेख र औचित्य राख्न स्पष्टीकरण सोधिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुुर कुँवरले जानकारी दिए ।

प्रधानमन्त्री कार्यालयले कार्यान्वयनमा ल्याएको वैदेशिक भ्रमण व्यवस्थापन निर्दे्शिकामा कुनै पनि कर्मचारी गैरसरकारी संस्थाको सहयोगमा विदेश जान नपाउने व्यवस्था गरिएको छ । भ्रमण निर्देशिकाविपरीत भए छानबिन गरी कानुनअनुसार कारबाही गरिने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।