गणेशमान सिंहलाई साक्षी राखेर चुनावी अभियान शुरु, ११ वटै वडामा सम्पर्क कार्यालय

 

पोखरा, कार्तिक २४ ।

नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता एवं लौहपुरुष गणेशमान सिंहलाई साक्षी राखेर चुनावी अभियानको शुभारम्भ गरेको छ ।

कांग्रेस उम्मेदवार खेमराज पौडेल लगायतले पोखराको नालामुखस्थित गणेशमानको शालिकमा माल्यार्पण गरि अभियान शुभारम्भ गरेका हुन् । संयोगले गणेशमानको १०५ औं जन्मजयन्ती पनि आइतबार नै परेको थियो ।

त्यस पश्चात कांग्रेस उम्मेदवार पौडेलसहित पोखरा–४, ८ र ९ मा घरदैलो कार्यक्रम गरिएको कास्की कांग्रेसले जनाएको छ । कास्की कांग्रेसले पोखरा– ४ मा यज्ञबहादुर थापा, ८ मा विरेन्द्रनारायण विजुक्छे र ९ मा तारानाथ रानाभाटलाई संयोजक तोकेको छ ।

घरदैलोका क्रममा मतदाताका आँगनमा पुगेका उम्मेदवार पौडेललाई मतदाताले गुरु भन्दै सम्मान भाव प्रकट गरेका थिए । कतिपय मतदाताले लामो समयपछि गुरुसंग भेट्न पाएकोमा खुशी लागेको भन्दै विजयको शुभकामना दिँदै सम्मान गरेका थिए । त्यस अवसरमा नजिकबाट चिनिएका मतदाता र आफूले पढाएका विद्यार्थी भेट्दा उम्मेदवार पौडेल भावुक समेत बनेका थिए ।

पोखरा–८ निवासी उम्मेदवार पौडेलका १ विद्यार्थी ‘गुरुको भार चुक्ता गर्ने अवसर बल्ल प्राप्त भएको छ, म जुनसुकै सहयोग गर्न तयार छु’ भन्दै पाउ छोएका थिए । त्यतिबेला उम्मेदवार पौडेलले ति विद्यार्थीलाई अंगालो हाल्दै भक्कानिएका थिए ।

११ वटै वडामा सम्पर्क कार्यालय

कांग्रेसले कास्की–२ अन्तर्गत पोखराका ११ वटै वडामा चुनावी प्रचार समितिको सम्पर्क कार्यालय स्थापना गरेको छ ।

आइतबार एकैसाथ पोखराका ११ वटै वडामा सम्पर्क कार्यालय शुभारम्भ गरिएको हो । कास्की–२ मा पोखरा–४, ६, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ नं. वडा परेको छ ।