कोइला अभावमा हेटौँडा सिमेण्ट उद्योग बन्द हुने अबस्थामा

हेटौँडा, पुस २१ गते । हेटौँडा सिमेण्ट उद्योग आंशिक रुपमा बन्द भएको छ । सिमेण्ट बनाउन कोईलाको अभाव भएपछि हेटौँडा सिमेण्ट उद्योग लिमिटेडको उत्पादन आंशिक रुपमा बन्द भएको हो । सिमेण्ट उत्पादन हुनुपूर्व क्लिङ्कर बनाउन चाहिने कोईलाको अभाब भएपछि गत एकसातादेखि उद्योगको उत्पादनमा समस्या देखिएको हो ।

‘ सिमेण्ट उत्पादन गर्नुपूर्व चाहिने क्लिङ्कर बनाउन कोईलाको अभाब भएपछि पुष १५ गतेदेखि उद्योगको उत्पादन आंशिक रुपमा बन्द छ , उद्योगका सञ्चालक समितीका अध्यक्ष रघुरमण न्यौपानेले भने, अहिले मौज्दातमा रहेको क्लिङ्करले उत्पादन गरिरहेका छौ । ’

उनले अझै डेढ लाख क्लिङ्कर मौज्दात रहेपनि त्यसले पन्ध्र–बिस दिनसम्म मात्रै उत्पादन धान्ने बताए । उनले आजै आब्हान गरेको टेण्डर उक्त दिनभित्र प्राप्त गर्न नसकिए आंशिक रुपमा बन्द भएको उत्पादन त्यसपछि पूर्णरुपमा बन्द हुने बताए ।

हेटौँडा सिमेण्ट उद्योगले सिमेण्ट उत्पादन गर्न आफैं क्लिङ्कर उत्पादन गर्ने गरेको छ । बि.सं २०३३ सालमा स्थापना भएको उद्योगले प्रतिदिन सांढे ७ मेट्रिक टन सिमेण्ट उत्पादन गर्दै आईरहेको छ ।

सिमेण्टको मूल्य बढ्यो

हेटौँडा सिमेण्ट उद्योग लिमिटेडले सिमेण्टको मूल्यमा वृद्धि गरेको छ । उद्योगले मूल्य वृद्धि गरेर ८९८ रुपियाँ ३५ पैसा पु¥याएको हो । उद्योगले यसअघि ५० केजीको बोराको सिमेण्ट उद्योगबाट डिलरलाई प्रति बोरा ७९५ रुपियाँमा बिक्री गर्दै आएको थियो ।

डिलरले उद्योगको गेट मूल्यमा कमिशन, कर र ढुवानी खर्चसमेत जोडेर उपभोक्तालाई बिक्री गर्ने छन् । हेटौँडामा उपभोक्ताले यसअघि हेटौँडा सिमेण्ट ५० केजीको प्रतिबोरा ८३० मा पाउँदै आएकोमा मूल्य वृद्धिपछि ११० रुपियाँ महङ्गो भएर ९४० रुपियाँमा डिलरबाट लिनुपर्ने छ ।

शिवम्, उदयपुरलगायतका सिमेण्ट उद्योगले मूल्य वृद्धि गरेपछि मूल्य वृद्धि गरेको हेटौँडा सिमेण्ट उद्योग सञ्चालक समितिका अध्यक्ष रघुरमण न्यौपानेले जानकारी दिए ।