के होला प्रदेश ४ को नाम ? (यस्तो छ सम्भावना)

पोखरा, फागुन १५ ।
प्रदेश ६ ले आफ्नो नाम सर्वसम्मत राखेको छ । कर्णाली प्रदेशको नाम र सुर्खेतलाई राजधानी तोकिएको छ । यसले अन्य प्रदेशलाई पनि दवाव परेको छ, छिटो नाम र राजधानीको छिनोफानो गर्नलाई । प्रदेश ४ अरु प्रदेश जस्तो राजधानीमा कम विवादित प्रदेश हो । तर नामको हिसावले यहाँको समस्या पनि अन्यत्र जस्तै छ । संविधानअनुसार प्रदेशसभाको २ तिहाई बहुमतले नाम तोक्न सक्ने ब्यवस्था छ । जातीय पहिचानकै सवालमा कुरा नमिलेर एमालेबाट अशोक राई लगायतले पार्टी छाडेका थिए भने पृथ्वीसुब्बा गुरुङ मुद्दा थाती राखेरै एमालेमा बसेका थिए । उनी अहिले आँफै मुख्यमन्त्री छन् । प्रदेशको राजधानीप्रति आम मान्छेको जति चासो छ त्यस्तो चासो प्रदेशको नाममा देखिएको छैन । यद्यपी संघीय समाजवादी फोरमले जातिय पहिचान झल्किने गरी नै नाम राखिनुपर्ने अडान कायम राखेको छ । यद्यपी फोरम पनि अहिलेको सरकारमा सहभागी छ । कुनै बिषयमा छलफल भए फोरमले पनि असमर्थन गर्नुपर्ने कारण कम हुन सक्छ ।
प्रदेश ४ को नाम के राख्ने भन्ने बारेमा औपचारिक छलफल नभए पनि गण्डक प्रदेशमा सहमति जुटाउने प्रयास भइरहेको छ । बिभिन्न जातीय संस्थाले तमुवान प्रदेश नाम राख्न दबाब दिइरहेका छन् । एमाले प्रदेश संयोजक तथा प्रदेशसभा सदस्य किरण गुरुङले गण्डक प्रदेश नाम राख्दा यसले तमुहरुको आदि थलो जनाउने भएकाले सबै समुदायलाई समेट्न सक्ने बताए । गुरुङले भने ‘गण्डकी र गण्डक भनेको फरक कुरा हो । गण्डकी एउटा नदीको नाम हो । गण्डक भनेको कालिगण्डकीदेखि बुढीगण्डकी र मस्र्याङदी नदी सभ्यताको संगम हो । यसले तमु समुदायको आदि थलोलाई पनि जनाउँछ । सायद गण्डक प्रदेशमा सहमति हुन सक्ला ।’ यद्यपी केही समूहले गोरखा नाम राख्न पनि लविङ बुझाईरहेका छन् भने अर्काथरीले तमुवान–मगरातलाई पनि अगाडी सारेका छन् ।