कास्कीमा बागीको बिगविगी

प्रकाश ढकाल
पोखरा, कार्तिक १७ ।
देशैभर बागीको तनाव ब्यहोरेको काँग्रेसलाई कास्कीमा पनि बागीकै चिन्ता छ । पार्टीबाट टिकट नपाएपछि केही नेताहरु स्वतन्त्र उम्मेदवार बनेका छन् भने केही नेताहरु भर्खरै सुरु भएको नेपाली काँग्रेस बीपीको नामबाट उम्मेदवार बनेका छन् । नेता नरेशशंकर पालिखेले क्षेत्र नम्बर २ ख बाट प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् । पार्टीले उक्त क्षेत्रमा विन्दु थापालाई टिकट दिएपछि असन्तुष्ट पालिखेले वागी उम्मेदवारी दिएका हुन् । पार्टीको आधिकारिक उम्मेदवार भन्दा अघिनै निर्वाचन अधिकारीको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका छन् । पालिखेले पार्टी नेतृत्वले टिकट वितरणमा योग्य उम्मेदवार चयन नगरेको र लामो समयदेखि क्रियाशिल कार्यकर्ताको मुल्याङ्कन नभएको गुनासो समेत व्यक्त गरे ।
अर्का नेता अजिमबक्स मियाले पनि बागी उम्मेवारी दिएका छन् । क्षेत्र नम्बर १ को प्रदेशसभा सदस्य तर्फ (क) मा उनले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका हुन् । क्रियाशिल सदस्य समेत रहेका चन्द्रबहादुर रानाभाट र रामबहादुर केसी नयाँ खुलेको पार्टी नेपाली काँग्रेस बीपीबाट उम्मेदवार बनेका छन् । रानाभाटले क्षेत्र नम्बर १ बाट प्रतिनिधीसभा सदस्य र केसीले १ नम्बर क्षेत्रको (क) मा प्रदेशसभा सदस्यका लागि उममेदवारी दिएका छन् ।
एमालेबाट प्रभावशाली नेता नै बागी उठेका छन् । कास्की क्षेत्र नम्बर १ को प्रदेशसभा (क) अन्तर्गत वाम गठबन्धनका माओबादी उम्मेदवार दिपक कोइराला विरुद्ध टिकाराम पगेनीले बागी उम्मेदवारी दर्ता गराएका हुन् । उनी एमालेबाट सीफारिसमा परेका थिए । जिल्ला निर्वाचन कमिटीका अध्यक्ष समेत रहेका पंगेनी क्षेत्र नम्बर १ का पुर्व अध्यक्ष हुन् । विद्यार्थी राजनीति देखि नै एमालेमा क्रियाशिल उनी गठबन्धनबाट अन्याय भएको भन्दै स्वतन्त्र रुपमा उम्मेदवारी दिएको बताउँछन् ।
स्वतन्त्र उम्मेदवारी दिएका अर्का उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की संघीय फोरमसँग नजिक छन् । पार्टी कमिटिले कार्यकर्तासँग सल्लाह नगरी गठबन्धन गरेको विरोध गर्दै कास्कीबाट उनले उम्मेदवारी दिएका हुन् । अर्का उम्मेदवार निर्मल खत्री चाहीँ आँफुलाई विवेकशील साझा पार्टीको बताउँछन् । पोखरा २० भलामका उनी यो चुनावमा प्रतिनिधीसभा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गरेका छन् । दुर्गादत्त तिमिल्सीना पनि यसपालि क्षेत्र नम्बर ३ बाट प्रतिनिधीसभाका स्वतन्त्र उम्मेदवार हुन् । कुनैपनि पार्टीमा आवद्ध नरहेका उनी पार्टीगत पक्ष र विपक्षलाई विरोध नगरी आँफ्नै हिसावले उनले उम्मेदवारी दर्ता गराएका हुन् ।