कास्कीमा दुई मन्त्रीको घम्साघम्सी

प्रकाश ढकाल
पोखरा, कार्तिक १६ ।
कास्की क्षेत्र नम्बर १ जिल्लामै बढी चासोको क्षेत्र हो । यो क्षेत्रमा पूर्व मन्त्री र बहालवाला मन्त्री आमनेसामने हुँदैछन् । वाम गठबन्धनले पुर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीलाई टिकट दिएको छ भने नेपाली काँग्रेसबाट वहालवाला कानुनमन्त्री यज्ञ बहादुर थापा उनका प्रतिश्पर्धी हुन् । उनीहरु दुवैजना २०६४ को संविधानसभा चुनावमा पनि आमनेसामने भएका थिए । तर दुवैजना पराजीत भएका थिए । यो क्षेत्रबाट तत्कालीन माओबादीका उम्मेदवार देवप्रसाद गुरुङ विजयी भएका थिए ।
अधिकारी अघिल्लो संविधानसभा चुनावमा सोही क्षेत्रबाट पराजीत भएका थिए भने दोश्रो चुनावमा उनी उम्मेदवार नै बनेनन् । समानुपातिक सांसद समेत नरहेका अधिकारी एमालेको कोटाबाट स्वास्थ्यमन्त्री बनेका थिए । थापा अघिल्लो चुनावमा हारेपनि दोश्रो चुनावमा एमालेका मान बहादुर जिसीलाई पराजीत गरी सांसद बनेका ब्यक्ति हुन् । वर्तमान सरकारमा उनी कानुनमन्त्रीको भूमिकामा छन् । वाम गठबन्धन र नेपाली काँग्रेस दुवैका लागि यो क्षेत्र प्रतिष्ठाको क्षेत्र हो ।
दुवैले आफ्नो पक्षमा नतिजा पार्न तारतम्य कसेका छन् । यो क्षेत्र काँग्रेसका लागि जिल्लाकै सबैभन्दा बढी सम्भावना भएको क्षेत्र हो । यद्यपी एमाले उम्मेदवार समेत हेवीवेटका भएकाले प्रतिश्पर्धा निकै रोचक हुने अनुमान लाउन सकिन्छ । वाम गठबन्धनको मुख्य घटक समेत रहेको एमालेलाई यसपाला माओबादीको भरपुर साथ पाउने आसमा छ । उसैगरी माओबादी पनि एमालेको साथको विश्वासमा छ । काँग्रेस भने केही जिल्लामा साना दलहरुसँग तालमेल गरेपनि कास्कीमा हालसम्म कुनैपनि दलसँग सहकार्य नगर्ने देखिएको छ । यद्यपी यसको सम्भावना भने टरिसकेको छैन । दलहरु आन्तरिक छलफलमा ब्यस्त छन् ।