कालिज खाने हो ? पोखरा आउनुस्

पोखरा, असोज २२ ।
पोखरामा ब्यवसायिक रुपमा कालिज पालन सुरु भएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १४ खाल्टेमसिना घर भई २३ वर्षदेखी बेल्जियम बस्दै आएका पदम अधिकारी र उनको भाञ्जा सोमनाथ लामिछानेले संयुक्त रुपमा कालिजको ब्यबसायीक पालन थालेका हुन् ।
मामा भाञ्जाले पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३३ लामगादीमा नेपाल वाइल्ड फुड प्रोडक्ट प्रालि खोलेर कालिज ब्यबसायीक रुपमै उत्पादन शुरु गरेका छन् । १ करोड खर्च भइसकेको यस फर्ममा मामा अधिकारीको ८० प्रतिशत लगानी छ भने भाञ्जा लामिछानेको २० प्रतिशत लगानी छ ।
२ वर्ष अघिदेखी शुरु भएको कालिज उत्पादन अहिले फैलिदै गएको छ । बेल्जियममा सेफ भएर काम गर्ने क्रममा ब्यबसायीक कालिज पालन देखेका अधिकारीले त्यहिं आफैले खानका लागि छुट्टै पाल्ने गरेका उनले स्वदेश जन्मथलो आएर यसको ब्यबसायीक उत्पादन गर्ने सपना देखे । त्यहि सपना पूरा गर्न उनी जन्मथलो पोखरा आए र भाञ्जालाई साथ लिएर कालिज पालन शुरु गरे ।
शुरुमा १ हजार २ सय अण्डा ल्याएर काठमाडौंको एक ह्याचरीमा चल्ला उत्पादन गर्न दिएका उनले त्यसलाई पोखरामा परिक्षणको रुपमा पाल्न शुरु गरे । पहिलो उत्पादन राम्रो भएपछि उनले हाल आफैले २ वटा ह्याचरी मेसिन ल्याएर चल्ला पनि आफैले उत्पादन गर्ने गरेका छन् । यद्वपी हाल ल्याइएको उक्त मेसिन सानो भएकाले एक पटकमा १ सय वटा चल्ला मात्र उत्पादन गर्न मिल्छ । अब त्यसलाई बढाएर एक पटकमा ४ हजार उत्पादन गर्न मिल्ने ह्याचरी मेसिन ल्याउने तयारीमा छन् उनी ।
३ वर्षमा २ लाख ५० हजार कालिज उत्पादन गर्ने लक्ष्य लिएर काम गरिरहेका उनीहरुले हाल करीब १ हजार ५ सय कालिज खान लायक बनाएका छन् । १९ रोपनी जग्गा वर्षको २ लाख तिर्ने शर्तमा लिजमा लिएर काम गर्न शुरु गरेका उनीहरुले चाँडै नै जंगलको नजिक उपयुक्त खुल्ला ठाउँ लिएर ठूलो मात्रामा कालिज उत्पादन गर्ने तयारी गरिएको नेपाल वाइल्ड फुट प्रोडक्ट प्रालिका सञ्चालक मध्येका एक पदम अधिकारीले बताए ।
कालिजलाई कहिंबाट पनि भाग्न नसक्नेगरी तारजाली लगाएर केज बनाउनुपर्छ । शुरुमा चल्ला उत्पादन गर्ने वित्तिकै राख्ने केज बनाउनुपर्छ भने एक महिनाको भएपछि सार्नुपर्छ । यसरी ३÷४ वटा केज परिवर्तन गरेपछि मात्र खान लायकको कालिज बन्छ । करीब ६ महिनामा खान लायक बन्ने यो कालिज सरदर डेढ किलोसम्मको हुने अधिकारीले बताए । कुनै केहि ठूलो र कुनै केहि सानो पनि हुने उनको भनाई छ ।
कालिज भाले र पोथी हुने भएकाले यसलाई छुट्टाछुट्टै राख्ने गरिन्छ । भाले कालिज जसको घाँटीमा सेतो र अन्य भाग रातो हुन्छ त्यसलाई रिङ नेक कालिज र ब्राउन कलरको कालिज पोथी हुन्छ । अण्डा पार्ने समयमा बिऊका लागि पोथी भएको ठाउँमा भाले लगेर छाड्ने गरिन्छ । एउटा पोथीले ५० देखी ६० दिनसम्म अण्डा दिन्छ । त्यसमा कुनैले दैनिक अण्डा पार्छ भने कुनैले दिन बिराएर ।
कालिजको दाना भनेको मकै, गहुँ, कमलो खालको घाँस र सागपात हो । यद्वपी ब्रोइलर कुखुरालाई दिइने दाना पनि कालिजका लागि खुवाउन सकिन्छ । तर मकै, गहुँ वा सागपात खुवाएमा कालिजको लोकल स्वाद आउन सघाउने अधिकारीले बताए ।
कालिज स्वादिलो हुनुका साथै स्वस्थकर पनि हुने अधिकारीको दाबी छ । शरिरलाई चाहिने प्रोटिनको मात्रा पर्याप्त हुने भएकाले यो धेरैको रोजाइमा पर्ने उनलेका विश्वास छ । गर्मीमा भन्दा जाडोमा खानु उपयुक्त हुने कालिजको मासु सुत्केरीको लागि अत्यन्त लाभदायक हुने उनले बताए । बोसो अत्यन्त न्यून मात्र हुने भएकाले कालिजको मासु स्वस्थकर हुने उनको भनाई छ ।
एउटा कालिजको मूल्य ३ हजार पर्ने प्रालिका सञ्चालक अधिकारीले बताए । फार्म भएकै ठाउँमा काटेर खाने ब्यबस्था पनि गरिएको छ । यद्वपी रेष्टुरेण्ट नै सञ्चालन भने गरिएको छैन । पकाएको एउटा कालिजको मासुको मूल्य भने ३ हजार ५ सय तोकिएको अधिकारीले जानकारी दिए । मामा भाञ्जाले निकट भविष्यमै लेकसाइडमा कालिज रेष्टुरेण्ट खोल्ने लक्ष्य राखेका छन् । कालिजको मासुको स्वाद मन पराउने पर्यटकलाई लक्षित गरेर ३ वर्ष भित्रमा लेकसाइडमा रेष्टुरेण्ट खोल्ने अधिकारीले बताए ।
नेपालको वन जंगलमा कालिज हुने भएपनि यसलाई मारेर खान भने पाईंदैन । यदि कसैले जंगलको कालिज मारेको पाइएमा वन्य जन्तु चोरी शिकारी ऐन अनुसार कार्वाही हुन्छ । नेपालीको कालिज खाने चाहना पूरा गर्न आफूले ब्यबसायीक रुपमै कालिज उत्पादन गर्न शुरु गरेको अधिकारीले बताए । कालिज पाल्नका लागि फर्म नै दर्ता गरेर काम गरेपनि कालिज किनेर लैजानेलाई भने प्रशासनले दुःख दिने हुन् कि भन्ने उनलाई चिन्ता छ । यद्वपी आफूले कालिज बेच्दा भ्याट बिल नै दिने भएकाले समस्या नहोला कि भन्ने उनलाई लाग्छ ।