कालापानीबारे कूटनीतिक पहल, भारतीय विदेश सचिवलाई भेटे राजदूत आचार्यले

 

काठमाडौं, कार्तिक २५ ।

कालापानी सीमा विवादबारे नेपालले भारतीय अधिकारीहरुसँग भेटेर कूटनीतिक पहल थालेको छ ।

नयाँदिल्लीस्थित नेपाली राजदूतावासले भारतीय नेतृत्वसँग यसबारेमा छलफल थालेको हो । भारतले उसको नयाँ नक्शामा राखेको नेपाली भूमिबारे छलफल थालेको दूतावासले जनाएको छ ।

राजदूत नीलाम्बर आचार्यले शुक्रवार नोभेम्बर ८ मा भारतीय विदेशसचिव विजय गोख्लेसँग भेटेर सीमा विवादबारे छलफल गरेको दिल्लीस्थिति नेपाली दूतावासले जनाएको हो ।

‘राजदूत आचार्य र विदेश सचिव गोख्लेबीच गोख्लेकै कार्यकक्षमा शुक्रबार भेटवार्ता भयो । वार्ताका क्रममा सीमा विवादलगायत दुई पक्षीय सम्बन्धबारे छलफल भयो,’ दूतावासले सोमबार गरेको ट्वीटमा उल्लेख छ ।

राजदूत आचार्यले भारतसमक्ष कालापानी क्षेत्र नेपालका भएकाले सीमा समस्या समाधानका लागि तात्काल वार्ता गर्न आग्रह गरेको बताइएको छ ।

नोभेम्बर २ मा भारत सरकारले जारी गरेको नयाँ नक्शामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएपछि यसको नेपालमा विरोध भइरहेको छ । सरकारले आयोजना गरेको सर्वदलीय बैठकमा पनि सबै राजनीतिक दलले कालापानी क्षेत्र नेपाली भूमि भएको भन्दै फिर्ता गर्न भारतसँग कूटनीतिक पहलका लागि सुझाएका थिए ।

उक्त नक्शामा भारतले जम्मु कश्मीरलाई टुक्र्याउँदै लद्दाखसमेत दुई केन्द्र शासित क्षेत्र देखाएको छ । नक्शामा पाकिस्तान नियन्त्रित जम्मुकश्मीरलाई पनि राखिएको भन्दै पाकिस्ताने पनि विरोध गरेको छ । (ईमेजखबरबाट साभार)