काभ्रेका ३ ग्यास उद्योग बन्द गर्न नापतौल विभागको निर्देशन

काभ्रे, पुस २१ । नेपाल नापतौल तथा गुणस्तर विभागले काभ्रेका तीन वटा ग्यास उद्योग बन्द गर्न निर्देशन दिएको छ । शुक्रबार अनुगमनमा आएको विभागको टोलीले जिल्लामा सञ्चालित तीन वटै ग्यास उद्योग सञ्चालनमा रोक लगाएको हो ।

बनेपा १० स्थित थापा गाउँमा रहेको सगरमाथा ग्यास उद्योग (सगर ग्यास) सूर्य ग्यास र चण्डेश्वरी ग्यास उद्योग (चण्डी ग्यास) को उत्पादन र विक्रि वितरण गर्न रोक लगाइएको विभागका निर्देशक मनोजकुमार उपाध्यायले जानकारी दिए ।

सरकारको गुणस्तर चिन्ह (एनएस) र सरकारी मापदण्डलाई मिच्दै विग्रिएका पुराना र ग्यास लिक भएका सिलिन्डर बजारमा पठाएको भेटिएको छ । निर्देशक उपाध्यायले भने, ‘नेपाल गुणस्तर चिन्ह समेत छैन, कसरी सञ्चालन हुन्छनर कसरी चल्छन् अचम्म छ ?’

उता उद्योगीहरुले भने गुणस्तर चिन्ह लिने प्रक्रियामा भएको दाबी गरेका छन् । साथै सरकारी निकायले उद्योग बन्द गर्दा नाकाबन्दीको जस्तै अभाव हुने तर्क गरेका छन् । सगरमाथा ग्यास उद्योगका मालिक अमृत अग्रवालले सरकारको नियमलाई मानेर नै अगाडी बढ्दा यस्तो निणर्य गरिनु दुखत् भएको बताए ।