काँग्रेस सांसद खड्काको ओलिलाई ब्यंग्य–राजेश हमाल र भुवन केसी भन्दा ठूलो हिरो बन्नुस्

पोखरा, बैशाख ७ ।
विहिबारको प्रदेशसभा बैठकबाट काँग्रेस सांसद कुमार खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीको क्रियाकलापबारे गुनासो पोखे । प्रधानमन्त्रीको रारा सम्मेलन र त्यससँग जोडिएका अरु क्रियाकलापप्रति खड्काले कटाक्ष गरेका हुन् । ‘कमजोर स्वास्थ्यको बाबजुत पनि दुर्गम उच्च हिमाली क्षेत्रबाट भएको प्रधानमन्त्री ज्यूको सम्बोधनले निरन्तरताको क्रम भंगता मात्रै गरेन । पर्यटन प्रवद्र्धनका सकारात्मक सन्देशहरु प्रबाह भएका छन् । नेपाली काँग्रेसले पनि परम्पराबादी प्रतिपक्षतालाई तोडेर समर्थन गरेको छ, विशेष समयलाई सम्बोधन गर्दै उनले भने–तर ओलिजीको सम्बोधन भन्दा फरक बिषय अहिले समाचारमा आईरहेका छन् । यदि यो सत्य हो भने राज्यको ढुकुटीमा चलचित्र अभिनय गर्नु खेदजनक छ । यसको छानविनका लागि प्रदेशसभा मार्फत केन्द्रिय सरकारसँग आग्रह गर्दछु ।’

उनले घुमाउरो पाराबाट ओलिको कटाक्ष गरे । ‘दीपेन्द्र दाहालको निर्देशनमा सानु महर्जनको छायांकनमा खड्कप्रसाद ओली, अनुपम शर्मा, टिका पहारी, हरिहर शर्मा, विश्व बस्नेत लगायतका कलाकारले अभिनय गरेको रातो सूर्य चलचित्र निर्माण भएको सुन्नमा आएको छ । सम्माननीय प्रधानमन्त्री ज्यूले चलचित्रमा अभिनय गर्नु ब्यक्तिगत कुरा हो, उनले थपे–वहाँ राजनीतिमा जस्तै अभिनयमा पनि शीर्ष स्थानमा पुग्न सक्नुहोस् शुभकामना छ । राजेश हमाल, भुवन केसी जस्तो सफल हुनुहोस् र चलचित्र सुपर डुपर होस् भनेर माता विन्ध्यबासिनी मातासँग ४ किलो लड्डु चढाउने भाकल समेत गरेको छु ।’ ब्यक्तिगत कामका लागि सरकारी ढुकुटीको प्रयोग गरेको प्रति गुनासो पोखेको उनले बताए । अघिल्लो बैठकमा पनि ओलिको रारा सम्बोधनबारे काँग्रेस सांसद मेखलाल श्रेष्ठले गुनासो टिप्पणी सहित विरोध गरेका थिए ।

राजेश, भुवनजस्तो सफल हुनुहोस् होस् भनेर विन्ध्यबासिनीसँग ४ किलो लड्डु चढाउने भाकल गरेको छु ।

विहिबार अन्य सांसदहरुले चाहीँ समसामयिक घटनाक्रम र विकास निर्माणका बिषयमा आवाज उठाए । सांसद मिना गुरुङले भ्रुण हत्या र गैर कानुनी गर्भपतन विरुद्ध गम्भिर भएर कार्यक्रम तयार गर्न सरकारको ध्यानाकर्षण गराईन् । सांसद हरिशरण आचार्यले सरकारले प्रदेशमा बनाउने भनेको अन्तराष्ट्रिय स्तरको सम्मेलन केन्द्रबारे जिज्ञासा राखे । उनले हाल पोखरामा रहेको सभागृह अस्थब्यस्त रहेको उदाहरण दिँदै त्यसको ब्यवस्थापन सहित नयाँ सभागृह निर्माण थाल्न आग्रह गरे ।

नवलपुरकी ओमकला गौतमले नवलपुर क्षेत्रमा सुरक्षा अवस्था चुनौतिपूर्ण भएको गुनासो सहित आवश्यक सुरक्षा ब्यवस्थापनको लागि माग गरिन् । नवलपुर क्षेत्रको विकास निर्माणको लागि पनि उनको आग्रह छ । सांसदहरु दिलमाया रोका, रोशन गाहा थापा लगायतले पनि समसामयिक घटनाक्रममा सुझावसहित समाधानको लागि आग्रह गरे ।
प्रदेश ४ संसदको हरेकजसो बैठकमा अहिले शून्य र विशेष समय छुट्याउन थालिएको छ । बैठकमा सँधै सांसदहरुले समसामयिक बिषयमा र समस्याहरुमा सरकारको ध्यानाकर्षण गराउँछन् । प्रदेश सरकारदेखि केन्द्र सरकारसम्म उनीहरुले गुनासो र टीप्पणी गर्न भ्याउँछन् । बैठकमा बोलेका बिषयहरुमा सरकारले जिम्मेवारपूर्ण जवाफ भने दिन सकेको छैन ।

प्रश्न र सुझाव राख्ने सांसदहरुले प्रश्नको जवाफ दिन संसदबाटै आग्रह पनि गरे । उनीहरुको आग्रहपछि जवाफ दिने थालनी भएपनि कार्यान्वयन पक्ष भने फितलो छ ।
शून्य समयमा बोल्दै सांसद प्रभा कोइरालाले २०४७ सालमा जिल्ला प्रशासन कार्यालयमा मारिएका झपिन्द्र कार्की र ऋषिराम परियारलाई शहीद घोषणा गर्न माग गरिन् । विन्दुकुमार थापाले पोखराको ट्राफिक ब्यवस्थापन चुस्त बनाउन सरकारको ध्यानाकर्षण गराए । भगवतप्रकाश मल्लले सिद्धार्थ राजमार्गको स्तरोन्नी र रामदीमा कालिगण्डकीको पुल पुनः निर्माणको लागि आग्रह गरे ।

मनकुमारी गुरुङले गुरुङ ल्होसारको दिन प्रदेश सरकारले विदा दिनुपर्ने माग राखिन् । महेन्द्र थकालीले मुस्ताङका स्वास्थ्य संस्था स्तरोन्नती सहित दक्ष चिकित्सक र औषधी प्रबन्ध मिलाईदिन माग गरे । विहिबारको बैठकले संसदको बिषयगत समितिमा सदस्य हेरफेर गरिएको छ भने स्थानीय तहको सभा सञ्चालन कार्यविधिको बिधेयकमाथी छलफल भएको थियो ।