काँग्रेसलाई सघाउन कास्कीमा उम्मेदवारी फिर्ता

पोखरा, कार्तिक १९ ।
आगामी मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधीसभा सदस्यका लागि मनोनयन दर्ता गराएका कास्कीका ५ उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगले तोकेको समयभित्रै उनीहरुले आफ्नो दावेदारी फिर्ता लिएका हुन् । आयोगले आइतबार २ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकेको थियो ।
निर्वाचन कार्यालयका अनुसार उम्मेदवारी फिर्ता लिने सबै उम्मेदवार कास्की निर्वाचन क्षेत्र नम्बर १ का छन् । प्रतिनिधीसभा तर्फ स्वतन्त्र उम्मेदवारी दिएका ज्ञानेन्द्रबहादुर कार्की र एकीकृत राप्रपा राष्ट्रवादीका उम्मेदवार सञ्जय कार्कीले आईतबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी फर्काए ।
प्रदेशसभा अन्तर्गत १ नम्बर क्षेत्रकै (क) मा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार अजिमबक्स मियाँ र नेपाली काँग्रेस विपीका उम्मेदवार रामबहादुर केसीले पनि उम्मेदवारी तानेका छन् । उता क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) बाट दावेदारी दिएका राप्रपाका प्रभावशाली नेता नारायण गुरुङ पनि चुनावी प्रतिश्पर्धाबाट बाहिरिएका छन् ।
फिर्ता लिएका राप्रपाका नेता गुरुङबाहेक सबै उम्मेदवारले नेपाली काँग्रेसका उम्मेदवारलाई सघाउने बताएका छन् । ‘कम्युनिष्ट एकता विरुद्ध हाम्रो सहयोग रहनेछ । त्यसको नेतृत्व नेपाली काँग्रेसले गरिरहेको छ, उनीहरुले भने–त्यसैले काँग्रेसका उम्मेदवारलाई सघाउने गरी उम्मेदवारी फिर्ता लिएका हौं ।’ नेपाली काँग्रेसका शीर्ष नेताहरुसँगको छलफल पछि उनीहरु उम्मेदवारी फर्काउन सहमत भएका श्रोतको भनाई छ ।
गुरुङ चाहीँ ब्यक्तिगत कारणले उम्मेदवारी फिर्ता लिएको बताउँछन् । ‘पार्टीकै सल्लाह अनुसार उम्मेदवारी दिएको हुँ । ब्यक्तिगत कारणले पार्टीलाई सोधेर नै फिर्ता लिएँ, उनले भने–अहिले कुनैपनि पार्टीलाई सघाउने निर्णय भएको छैन । केन्द्रको निर्देशनमा आवश्यक्ता अनुसार साथ र सहयोग गर्ने कुरा भएको छ ।’
निकै चासोको रुपमा हेरिएको कास्की क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा सदस्य (ख) बाट वागी उम्मेदवार बनेका नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी नरेशशंकर पालिखेले चाहीँ उम्मेदवारी फिर्ता लिएनन् । अन्तिम समयसम्म पनि उनको उम्मेदवारी झिक्न पार्टीका शीर्ष नेतृत्व लागि परेको थियो । तर उनी आफ्नो अडानबाट पछि हटेनन् । ‘मैले फिर्ता लिनका लागि उम्मेदवारी दिएकै हैन । कसैले भनेर फिर्ता लिन पनि मिल्दैन, उनले भने–नेतृत्वको निर्णय चित्त नबुझेर उम्मेदवारी दिएको हुँ । अव चुनाव जित्नेतिर लागिरहेको छु ।’
स्वतन्त्र उम्मेदवारी दिएका प्रतिनिधीसभा सदस्य कास्की ३ का उम्मेदवार दुर्गादत्त तिमिल्सिीना र क्षेत्र नम्बर २ का निर्मल खत्रीको उम्मेदवारी पनि कायम छ । कास्कीमा अव ९५ जना मात्रै उम्मेदवार चुनावी मैदानमा छन् । वाम गठबन्धन विरुद्ध वागी उम्मेदवार बनेका एमाले नेता टिकाराम पगेनीको भने निर्वाचन अधिकृतको कार्यालयले नै अयोग्य ठहर गरि उम्मेदवारी रद्द गरिदिएको थियो ।
हाल प्रतिनिधीसभा अन्तर्गत कास्की १ मा ११ जना, २ मा १३ जना र ३ मा ११ जना उम्मेदवार बाँकी छन् । प्रदेशसभा अन्तर्गत १ (क) मा १२, (ख) मा १०, २ (क) मा ९, (ख) मा १०, ३ (क) मा १० र (ख) मा ९ जना उम्मेदवार छन् ।