एल क्लासिकोमा बार्सिलोना विजयी

श्रावण १६, २०७४- जेरार्ड पिकेको निर्णायक गोल मदतले बार्सिलोनाले रियल म्याड्रिडलाई मियामी एल क्लासिकोमा हरायो र यो खेल अपेक्षाअनुसार सनसनीपूर्ण रह्यो। स्पेनी अन्तर्राष्ट्रिय खेलाडीले ५० औं मिनेटमा नेयमरको फ्रि–किकलाई गोलमा परिणत गरे र हार्ड रक स्टेडियमका ६६ हजार १४ दर्शक अगाडि बार्सिलोना ३–२ ले विजयी रह्यो।

लियोनल मेसीले ६४ मिनेट मैदानमा बिताए र उनकै गोलले बार्सिलोनाले अग्रता लिएको थियो। इभान राकिटिचले लगत्तै दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे। जिनेदिन जिदानको टिमले विस्तारै खेलमा आफ्नो प्रभाव सुरु गर्‍यो। उसका लागि माटेओ कोभासिच तथा मार्को एसेनसोले गोल गरे र खेल बराबरीमा पुग्यो।

त्यसयता खेलमा चर्को प्रतिस्पर्धा सुरु भयो र यसैक्रममा पिकेले निर्णायक गोल गरे। प्रि–सिजनको फ्रेन्ड्ली जित–हारले दुवै टिमलाई खासै प्रभाव पार्ने छैन र यसको नतिजा दुई टिमबीचको तथ्यांकमा जोडिने पनि छैन। नेयमरले ७२ औं मिनेटमा मैदान छाडे र यो सम्भवत: बार्सिलोनाको जर्सीमा उनको अन्तिम खेल पनि हुन सक्छ।

पीएसजी–मोनाको
टेनजिरेस– नयाँ अनुबन्धित ब्राजिली खेलाडी डानी एल्भेसको उत्कृष्ट प्रदर्शन मदतले पीएसजीले च्याम्पियन्स ट्रफी फाइनलमा शनिबार मोनाकोलाई २–१ ले हरायो। फ्रान्सेली फुटबल लिग सुरु हुने संकेतका रूपमा हुने यो खेल जितेर पीएसजीले सिजनको पहिलो उपाधि पनि जितेको छ।

पीएसजीले यो उपाधि जितेको लगातार पाँचौंपटक हो। यससँगै पीएसजीले लियोनसँगै सातपल्ट यो उपाधि जितेको कीर्तिमान पनि बराबरी गरेको छ। गत सिजन पीएसजीले लिग उपाधि मोनाकोसँग गुमाएको थियो र यस्तोमा उसको यो जित बदलाका रूपमा पनि हेरिएको थियो। लिगकप फाइनलमा पनि पीएसजीले मोनाकोलाई नै हराएको थियो।

लिभरपुल–हर्था बर्लिन
बर्लिन– योर्गन क्लोपको शनिबार जर्मन फर्काइ सुखद रह्यो र उनको लिभरपुलले प्रि–सिजन फ्रेन्ड्लीमा शनिबार हर्था बर्लिनलाई ३–० ले हरायो। त्यस जितमा क्लबका दुई नयाँ अनुबन्धित खेलाडी डोमिनिक सोलन्की र मोहम्मद सलाहले गोल गरे। बार्सिलोना स्थानान्तरण हुने हल्लाबाट गुज्रिरहेका फिलिपो कोटिन्हो कप्तानको भूमिकामा देखिए।

इन्टर मिलान–चेल्सी
सिंगापुर– इन्टर मिलानका जेफरी कोन्डोगबियाले गरेको अविश्वसनीय आत्मघाती गोलका बावजुत इन्टर मिलानले शनिबार राति प्रि–सिजन फ्रेन्ड्लीमा चेल्सीलाई २–१ ले हरायो। इन्टरले
इभानर पेरिसिच र स्टेभान जोभिटिचको गोलले अग्रता लिएको थियो। तर रंगशालामा उपस्थित ३२ हजार दर्शकलाई स्तब्ध पार्दै जेफरीले ४० यार्डबाट प्रहार गरेको नियमित बल आत्मघाती गोलमा परिणत भएको थियो।

सिटी–टोटेनहम
वासिङ्टन– म्यानचेस्टर सिटीले प्रि–सिजन फ्रेन्ड्लीमा शनिबार इङलिस प्रिमियर लिग क्लब प्रतिद्वन्द्वी टोटेनहमलाई ३–० ले हरायो। इन्टरनेसनल च्याम्पियन्स कपका लागि भएको खेलमा जोन स्टोन्स, रहिम स्टर्लिङ र ब्राहिम डियाजले गोल गरे। यस खेलपछि दुवै टिम नयाँ सिजनका लागि घर फर्कंदैछन्।