उम्मेदवारको घरदैलो अभियान, कार्यकर्ता भोट हाल्न सिकाउँदै

पोखरा, कार्तिक २८ ।
“युवा पलायन रोक्नुपर्छ । कृषिलाई व्यवसायिकरण गर्दै आत्मनिर्भर बनाउनुपर्छ ।” घरदैलो अभियानमा पोखरा महानगरपालिका वडा नं ११ फुलबारी पुगेका नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्र नं २ प्रदेश (ख) सदस्यका उम्मेदवार विन्दुकुमार थापाले भने–“पुरानै अवस्थामा रहँदा आयआर्जन हुन सक्दैन् । आयआर्जन नहुदाँ आत्मनिर्भर बन्न सकिदैन् ।”
रोजगारको लागि युवाहरु विदेशीक्रमलाई रोक्ने तर्फ आफनो उम्मेदवारी भएको उल्लेख गरे । “कृषिलाई व्यावसायिकरण गर्ने काँग्रेसको एजेण्डा हो ।” उनले थपे–“युवापुस्तालाई कृषि उत्पादनको लागि व्यवसायिक तालिम समेत दिनुपर्ने अहिलको आवश्यकता पनि जसले स्वरोजगार बन्न प्रेरित गर्छ ।” उनले सिटिईभिटी मार्फत युवापुस्ताले चाहे अनुसारको आयमुलक तालिम प्रदान गर्दै स्वरोजगार बनाउने उदघोष गरे ।
पश्चिमाञ्चल क्षेत्रीय क्षयरोग केन्द्रबाट आफनो घरदैलो अभियान शुरु गरेका थापाले मनिपाल शिक्षण अस्पतालको परिसरसम्म पुगे । बयोबृद्धादेखि खेतमा काम गरिरहेका सर्वसाधारणसँग रुखमा भोट माग्न व्यस्त बने । प्रत्येक घरभित्र छिरेर भलाकुसारी गरे । उनीसँगै घरदैलोमा पुगेका कार्यकर्ताले रुखमा भोट हाल्ने तरीका सिकाईरहेका थिए ।
“भोट मात्रै माग्ने होईन । फोटोसहितको कागज दिएर हुदैन्, भोट हाल्ने तरीका सिकाउनुपर्छ ।” घरदैलोकै क्रममा फुलबारीका स्थानीय बासिन्दाले भने–“भोट हाल्न नसिकाउँदा चुनावको अर्थ नै रहदैन् ।” कार्यकर्ताले पनि मतदाता शिक्षाको लागि स्वयंसेविका आउने भन्दै रुखमा भोट हाल्ने तरीका भने सिकाईदिए ।