इटहरीका विद्यार्थीद्धारा पोखराको पर्यटन प्रति चासो

गिता राना मगर, पोखरा १९ फागुन ।
जनता बहुमुखी क्याम्पस इटहरी ५ सुनसरी स्नातक तह तेश्रो वर्ष समाजकार्य विषयमा अध्ययनरत विद्यार्थीहरुले पोखराको पर्यटनको वारेमा चासो देखाएका छन । शहरी शिविर कार्यक्रम अन्तर्गत पांचदिने पोखरा भ्रमणमा रहेका विद्यार्थीहरुले पर्यटकीय शहर पोखराको बारेमा चासो देखाउदै नेपाल पर्यटन वोर्ड पोखराको कार्यालयमा पुगी पोखराको पछिल्लो पर्यटकीय गतिविधीको बारेमा समेत जानकारी लिएका हुन । पर्यटकीय शहर पोखरा पहाडी भेग त्यसमा पनि ठूलो भागमा समतल भुमिमा देख्न पाउदा आफुहरु आश्चर्यमा परेको विद्यार्थीहरुले वताए ।

पर्यटन वोर्डमा आयोजित कार्यक्रममा वोल्दै विद्यार्थी सोमनाथ घिमिरेले पोखरा शहर काठमाण्डौको तुलनामा निकै सफा र सभ्य सहरको रुपमा आफुले पाएको र यहांको प्राकृतिक छटाको जतिनै वर्णन गरेपनि कम हुने वताउदै पोखराको प्रकृतीक सौन्दर्यकै कारण आन्तरिक र बाह्य पर्यटक पोखरा आउने गरेको वताए । त्यस्तै अर्का विद्यार्थी लिना ओझाले आफुले पोखरा भन्ने ठाउ पहाडमा रहेको र पोखरा समथर भु भागमा छ भन्ने आफुले नसोचेको र पोखरा आउने वित्तिकै आफु आश्चर्यमा परेको वताइन । यहांको भौगोलिक बनावट यहांबाट देखिने हिमश्रृङखला, ताल तलैया गुफाहरुले आफुहरुलाई मोहित बनाएको उनको भनाइ रहेको थियो ।

विद्यार्थीहरुलाई पोखराको पर्यटनको वारेमा जानकारी दिदै पर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख काशीराज भण्डारीले पोखराले जो कोहीलाई पनि मोहित पार्ने शहर भएकाले सवै पिर चिन्ता र ब्यस्तताबाट छुटकारा पाउनका लागी पोखरा आउनुपर्ने वताए । पोखरामा रहेको ताल तलैया, गुफा, मन्दिर र यहांबाट देखिने धौलागिरी र अन्नपूर्ण हिमश्रृङखलाले जोकोहीलाई सजिलै मोहित पार्ने वताउदै भण्डारीले यहां सञ्चालन हुने शाहसिक खेलकुद गतिविधीहरु प्याराग्लाइडिङ, बन्जी जम्प, प्यारामोटर जस्ता गतिविधीमा पर्यटकहरु रमाउने गरेको वताउदै पोखरा बसाईको क्रममा पोखराका सम्पूर्ण ठाउहरु घुम्न आग्रह समेत गरे ।

त्यस्तै नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले पोखराको पुरानो इतिहासको बारेमा विद्यार्थीहरुलाई जानकारी दिदै पोखरा आफैमा पोखरा नबनीकन विदेशी पर्यटकहरुकै कारण पोखरा शहर बनेको वताए । सन १९५० देखी पोखरामा पर्यटक आउन सुरु गरेको र हाल सम्म आइपुग्दा पोखरा विश्वमै चर्चित शहरको रुपमा परिचित वनेको श्रेष्ठले विद्यार्थीहरुलाई वताएका थिए । पांचदिने भ्रमण सहित शहरी शिविरमा पोखरा आइपुगेका ५७ जना विद्यार्थीले पोखराको पर्यटन, पोखराको सुरक्षा स्थिती, शहरी समस्या र कोरोना भाइरसको असरको बारेमा जानकारी लिने समाजकार्य विषयका डिपार्टमेन्ट प्रमुख अर्जुन उप्रेतीले जानकारी दिए ।