अव सरकारसँग छिनोफानो गर्छौं–मुख्यमन्त्री गुरुङ

पोखरा, भदौ २१ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघ सरकारले टुक्रे योजनामा पनि हस्तक्षेप गरेको गुनासो गरेका छन् । बुधबार पोखरामा मुख्यमन्त्रीहरुको पहिलो भेलालाई सम्बोधन गर्दै उनले साना योजनामा पनि केन्द्र सरकारले हात हालिदिँदा प्रदेशलाई टुक्रे योजना बनाउने दवाव बढेको बताए । ‘५० हजार पनि आफै बाढ्ने भए संघीय सरकार स्थानीय सरकार हुन खोज्या कि प्रदेश सरकार हुन खोज्या ? उनले भने–हामी कसैको विरोधी र प्रतिश्पर्धी हैन । तर आफ्ना अधिकार क्षेत्रभित्र बस्नुपर्छ ।’ संविधानमा स्थानीय तह, प्रदेश र संघको आ–आफ्नै अधिकार क्षेत्र भएकोले सोही अनुसार काम गर्नुपर्ने सुझाव दिए ।

शान्ति सुरक्षाको जिम्मा पाएको प्रदेश सरकारलाई प्रहरी निकाय गठन गर्ने अधिकार नदिनु संघको दम्भ भएको उनले बताए । ‘कुनै घटना हुँदा प्रदेश सरकारले गोलि ठोक भन्छ । संघीय सरकारको प्रतिनिधी सिडियोले नठोक भन्छ । अनि त्यो प्रहरीले के गर्छ ? उ कन्फ्युजनमा पर्छ कि पर्दैन ?, गुरुङ भन्छन्–स्थानीय विकास अधिकारी समन्वय अधिकारी भैसक्यो भने सिडियो अव सिडियो रहिरहन्छ ? रहँदैन । हाम्रो शान्ति सुरक्षाको जिम्मा आन्तरिक मन्त्रालयले लिन्छ । सिडियोको कमाण्डले चल्दैन । यसपटकको बैठकमा यो पनि कुरा हुन्छ र छिनोफानो गर्छौं ।’

उनले कर्मचारी चलाउन नपाएसम्म सरकारले राम्रो काम गर्न नसक्ने बताए । ‘जबसम्म कर्मचारी आफ्नो मातहतमा रहँदैन, आफुँप्रति लोयल भएको कर्मचारी र प्रहरी पाउँदैन भने त्यो कसरी सरकार हुन्छ ?, गुरुङले अघि भने–बजेट बनाएर नीति कार्यक्रम ल्याएर मात्रै सरकार बन्दैन । हामीलाई हाम्रो कर्मचारी चलाउने अधिकार देउ भनेर माग गर्ने हो ।’