अन्नपूर्णमा फेरी तनाव, गाउँपालिका कार्यालयमा तालाबन्दी

प्रकाश ढकाल
पोखरा, पुस १७ ।
कास्कीको अन्नपूर्ण गाउँपालिकामा पुनः तनाव सुरु भएको छ । गाउँपालिका प्रमुख र उपप्रमुखले आँफुखुशी गाउँपालिका कार्यालय सारेको भन्दै लुम्लेका बासिन्दाले ढिकुरपोखरी स्थित गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन् । २ साताअघि पनि अस्थायी कार्यालय ढिकुरपोखरी सारेको भन्दै विरोधमा उत्रिएका स्थानीयले केही मौखिक सहमतिपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएका थिए । तर सहमति कार्यान्वयन नभएको गुनासो गर्दै उनीहरु आईतबारदेखि पुनः विरोधमा उत्रिएका छन् । ‘ढिकुरपोखरीमा कार्यालय सारेकै पर्सीपल्ट बैठक बसेर पुरानै ठाउँमा फर्काउने सहमति भएको थियो । तर गाउँपालिका प्रमुखले आफ्ना केही कुर्ची टेवुलमात्रै सार्नुभयो, सेवा ढिकुरपोखरीबाट सरेन, वडा नम्बर ६ का अध्यक्ष चित्रबहादुर गुरुङले भने–पूरानै ठाउँमा आउन धेरै पटक रिक्वेस्ट गरेको थिएँ । तर अध्यक्षज्यूले टेरपुच्छर लाउनु भएन, वडाबासी उठेर तालाबन्दी गरे ।’
गुरुङले पूरानै ठाउँबाट कार्यालय सञ्चालन नगरेसम्म लुम्लेलीको आक्रोस शान्त नहुने प्रतिक्रिया दिए । ‘ढिकुरपोखरी हुँदा हामीलाई कुनै समस्या होईन । निकट भविष्यमै महानगरमा गाभिने कुरा सुनिएको छ, वडाध्यक्ष चित्रबहादुर गुरुङले भने–महानगरमा ढिकुरपोखरी गयो भने हाम्रा सबै संरचना उतै जान्छ । हाम्रो कन्सर्न यतातिर हो ।’ लुम्लेका स्थानीयले संघर्ष समिति नै गठन गरेर आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेका छन् । लुम्लेका स्थानीय एकदेव देवकोटाको संयोजकत्वमा ५१ सदस्यीय समिति गठन भएकोमा थप हुँदै जाने देवकोटाले बताए । उनले गाउँपालिका प्रमुखको एकपक्षीय निर्णय र मनोमानी कार्यकलापका कारण आन्दोलन गर्नुपर्ने बाध्यता सिर्जना भएको बताए ।
‘पहिलै कार्यालय सारेपछि हामीले दवाव दियौं । अध्यक्ष ज्यूले माफी मागेर पूरानै ठाउँबाट कार्यालय चलाउने सहमति पछि ताला खोल्यौं, उनले भने–अहिले आलटाल गरेर सहमति टेर्नुभएन । स्थानीय स्तरमा धेरै पटक बैठक बसेर तालाबन्दी गरेका हौं ।’ समितिले जिल्ला प्रशासन, जिल्ला समन्वय समिति र जिल्ला स्थित राजनीतिक दलको कार्यालयमा पनि माग सुनुवाईका लागि ज्ञापनपत्र बुझाएको छ । देवकोटाले गाउँपालिकाको अस्थायी कार्यालय सँगै स्थायी कार्यालय पनि विवादित ठाउँमा राख्न सिफारिस भएको गुनासो गरे । ‘विभिन्न बाहनाबाजी गरेर अस्थायी केन्द्र ढिकुरपोखरी सारियो । हाम्रो विरोध हुँदाहुँदै स्थायी केन्द्रपनि ढिकुरपोखरीकै माछापोखरी भन्ने ठाउँमा राख्न केन्द्रसम्म सिफारिस पुगेको सुनिएको छ, उनी भन्छन्–यो हामीलाई मान्य छैन । स्थायी केन्द्रको लागि भुगोल र जनसंख्याको हिसावले पायक पर्ने ठाउँ खोज्नुपर्छ ।’ माग सुनुवाई नभए वडा कार्यालयमा पनि तालाबन्दी गरेर आन्दोलनलाई झन् शसक्त बनाउने उनको भनाई छ ।
सहमति अनुसार नै काम भैरहेको गाउँपालिका प्रमुख युवराज कुवँरले बताए । ‘पछिल्लो पटक लिखित निर्णय भएको होईन । कार्यकारी अधिकृत र गाउँपालिका प्रमुख उपप्रमुख पूरानै कार्यालयबाट काम गर्ने र अरु कर्मचारी ढिकुरपोखरीमा बस्ने सहमति भएको हो, उनले भने–अहिले सोही अनुसार काम गरिरहेका छौं । साथीहरुको के मा चित्त बुझेन स्पष्ट रुपमा भन्नुभएको छैन ।’ बैठक पूरानै कार्यालयबाट चलाउने सहमति भएपछि अहिले पूरानै ठाउँमा बैठक कोठा निर्माण गरिरहेको उनको भनाई छ । ‘बैठकका लागि हल बनाईरहेका छौं । स्थायी कार्यालय माछापोखरीमा राख्न कार्यपालिका बैठकबाट निर्णय भएको हो, उनी भन्छन्–मेरो एकल निर्णय कतैपनि छैन । निर्णय गर्दा तालि बजाउने र निस्केपछि पाखुरा बजार्ने हाम्रै साथीहरुका कारण समस्या देखिएको हो ।’ जनतासँग समन्वय र छलफल गरेर समस्या समाधान गर्ने उनको प्रतिबद्धता छ ।