सत्तारुढ नेकपाको चियापन बुधबार

 

काठमाडौं, असोज २८ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बडादसैं, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा विगतमाझैं यस वर्ष पनि बुधबार (असोज २९ गते) शुभकामना आदान–प्रदान तथा चियापन कार्यक्रम आयोजना गरेको छ ।

काठमाडौंको भृकुटीमन्डपमा आयोजना गरिने चियापान कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालका नामबाट निमन्त्रणापत्र पठाइसकिएको र कार्यक्रमको तयारी पूरा भएको नेकपाले जनाएको छ ।

पार्टीका महासचिव विष्णु पौडेलले मंगलबार जारी गरेको विज्ञप्तिमा अपराह्न १२ बजेदेखि ३ बजेसम्म पार्टीका नेता, कार्यकर्ता तथा आम जनसमुदायलाई र अपराह्न ३ बजेदेखि ५ बजेसम्म विभिन्न राजनीतिक दलका नेता, मन्त्री तथा सांसद, संवैधानिक अंगका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सरकारका उच्चपदस्थ पदाधिकारी, सेवानिवृत्त पदाधिकारीलाई आमन्त्रण गरिएको उल्लेख छ ।

मुलुकको बहुजातीय, बहुभाषिक तथा बहुधार्मिक विविधताभित्रको एकता, आपसी सद्भाव, सहिष्णुता, साझेदारी र सहकार्यको मौलिक विशेषता अनि लामो समयदेखि चल्दै आएको चाडबाड तथा संस्कृतिले नेपाली–नेपालीबीचको एकतालाई अझ मजबुत बनाउने पनि विज्ञप्तिमा जनाइएको छ । (रासस)