श्रीमतीले छोडेपछि तनहूँमा श्रीमानले गरे आत्महत्या

तनहूँ, मंसिर २० ।
तनहुँको शुक्लागण्डकी–५ बेलचौतारा स्थित भानुभक्त बहुमुखी क्याम्पस परिसरमा एक युवाले आत्महत्या गरेका छन् । क्याम्पस परिसरमा रहेको सिसौको रुखमा झुन्डिएर शुक्लागण्डकी ५ का २३ बर्षिय प्रशान्त गुरुङले आत्माहत्या गरेको जिल्ला प्रहरी कार्यालय तनहूँले जनाएको छ ।

बुधबार विहान क्याम्पस हाताभित्र सिसौको रुखमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा गुरुङ फेला परेका थिए । उनको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल दमौली लगिएको छ ।

बेलचौतारा क्षेत्रमा ट्राक्टर चालकको काम गर्दै आएका गुरुङ्गले मानसिक तनावकै कारण आत्माहत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । वडा नम्बर ५ का वडाध्यक्ष दिर्घ बहादुर थापाले पारिवारिक तनावका कारण गुरुङले आत्माहत्या गरेको हुन सक्ने बताए ।

उनका अनुसार गुरुङले श्रीमतीले छाडेपछि दोस्रो विवाह गरेका थिए । विवाह गरेको ५ दिनमै दोस्रो श्रीमतीले समेत छोडेर गएपछि उनी चिन्तित थिए । दुवै श्रीमतीले छाडेर गएपछि आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।