श्रेयाकी दिदीको कहालिलाग्दो कहानी–घर धान्न स्कुल छोडेर चटपट बेच्छिन्

पोखरा, असोज १८ ।
बाबुले दुईबर्ष अघि अर्को बिहे गरेर भिन्दै बस्न थाले । बाबुले छोडेकै बर्ष आमा थला परिन् । एलर्जीले गर्दा आमाको ज्यान चल्दैन । जसका कारण कहिलेकाहीँ आमाकै गोठालो लाग्नुपर्ने अवस्था छ । घरमा भाइ बहिनीको पालनपोषणमा सघाउने कोही थिएनन् र छैनन् । १४ बर्षको उमेरमा ९ कक्षा पढ्दै गरेकी बालिकाको काँधमा परिवारको सबै जिम्मेवारी थुप्रियो ।

यो कहानी हो, अघिल्लो साता बलात्कारपछि हत्या गरिएकी श्रेया सुनारकी दिदी शोभा सुनारको । यतिबेला उनलाई घर परिवार चलाउन निकै कठिन हुँदै गएको छ । घर परिवार चलाउनकै लागि उनले चलिरहेको पढाई छोडेर चटपट बेच्न थालेकी छिन् । बाबुले छोडेपछि उनी स्कुल जान पाईनन्, घरको कार्यबोझले गर्दा । दुई बर्षदेखि शोभा चटपट बेचेरै घरखर्च चलाउँदै आएकी छिन् ।

आफ्नै बहिनीको बलात्कारपछि हत्या गरिएको घटनाले शोभालाई पनि सम्हालिन गाह्रो भैरहेको छ । श्रेयालाई सम्झिएर आमा चाहीँ जतिबेला पनि भक्कानिएर रुन्छिन् । दीर्घ रोगी आमालाई सम्हाल्नुपर्ने एउटा बाध्यता, घरखर्चको जोहो गर्नुपर्ने अर्को बाध्यता अनि बहिनीको हत्या पीडा, यो भन्दा ठूलो बज्रपात के हुन सक्छ ?

घरमा धानिनसक्नु हुँदा पनि शोभा र श्रेयाका बाबु घरतिर फर्किएरै हेर्दैनन् । ‘पैसो भएकाले रैछ पढ्नेपनि । हामीलाई खान लाउनै समस्या छ पढ्ने कुरा त सोचेको पनि छैन, शोभाले भनिन्–पढ्ने मन त कति छ कति । सबैजना स्कुल गएको देख्दा एक्लै लुकेर रुन्छु । घर र आमाको अवस्था हेरेपछि फेरि पढ्ने रहर आँफै हराउँछ ।’

अहिलेपनि ५ बर्षकी बहिनी सिमरन र ११ बर्षका भाइ नवीनको पढाईखर्च उनैले धान्नुपर्छ । घरको खाने लाउने खर्च पनि उनकै काँधमा छ । ‘चटपट बेचेर महिनामा १५ हजारजति कमाउँछु । दिनभरी चटपट बेच्यो साँझ घरको सामान किन्दा सकिन्छ, उनले भनिन्–अहिलेसम्म त जसोतसो चलेकै थियो । बहिनीको हत्या भएपछि चटपट बेच्न पनि गएको छैन । घर छोडेर जान मनले मान्दै मान्दैन ।’

फेरि चटपट बेच्ने कि अर्को कुनै ब्यवसाय गर्ने अहिले नै निक्र्यौल नगरेको उनी सुनाउछिन् । कलिलै उमेरमा घर ब्यवहारले थिचिएकी शोभा उद्धारको आसमा छिन् । असोज ८ गते हत्या गरिएकी श्रेयाको बुधबार मात्रै दाह संस्कार गरिएको छ । उनको छिमेकी कुशुम पौडेलले बलात्कारपछि हत्या गरेका थिए ।–दीनानाथ बराल/कारोबार