नेपालमा प्लेनभन्दा ट्याक्सी चढ्नु महँगो !

काठमाण्डौं, भदौ २१ ।
प्रतिनिधिसभा बैठकमा बुधबार सांसद भरतकुमार शाहले उपत्यकावासीलाई ट्याक्सीले ठगिरहेको विषय उठाए । उनले भने, ‘प्लेनले लिने भाडाभन्दा काठमाडौंमा ट्याक्सी भाडा महँगो छ ।’ कान्तिपुर दैनिकले खबर छापेको छ ।

उनले भैरहवा र धनगढीको जहाज भाडासमेत प्रस्तुत गरेर काठमाडौंको ट्याक्सी भाडासँग तुलना गरे। काठमाडौंदेखि भैरहवा १ सय ८५ किलोमिटर जहाजमा ३ हजार रुपैयाँ (प्रतिकिलोमिटर १६ रुपैयाँ) मा यात्रा गर्न सकिने उनले सुनाए। उनका अनुसार काठमाडौंदेखि धनगढी ४ सय ८० किलोमिटर दुरी ६ हजार रुपैयाँमा यात्रा गर्न सकिन्छ । अर्थात् एक किलोमिटरको १२ रुपैयाँ ५० पैसा पर्छ ।

०७२ माघ २४ मा सरकारले निर्धा्रित शुल्कअनुसार ट्याक्सीको एक किलोमिटरको ३५ रुपैयाँ छ । नातपौल गुणस्तर विभागले भने यातायात व्यवस्था विभागले निर्धारण गरेभन्दा एक रुपैयाँ बढाएर ३६ रुपैयाँ लिन पाउने गरी मिटरमा सिल लगाउने गरेको छ ।

विभागले निर्धारण गरेको भाडाअनुसार ट्याक्सीमा चढनेबित्तिकै मिटरमा १४ रुपैयाँ उठ्छ । प्रतिदुई सय मिटरमा ७ रुपैयाँ उठनुपर्ने हो तर ७ रुपैयाँ २० पैसा उठ्छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने पर्यटक ट्याक्सीले झन मनपरी भाडा लिने गरेका छन् ।