उवासंघ चुनाव–घरदैलोमा प्रजु प्यानल, अधिकारीको टीम बन्नै बाँकी
पोखरा, भदौ १५ ।
आगामी असोज पहिलो साता हुने चुनावका लागि पोखरेली ब्यवसायीको घरदैलो सुरु भैसकेको छ । दुईवटा प्यानल बन्ने निश्चितजस्तै भएको पोखरा उद्योग बाणिज्य संघको चुनावका लागि काँग्रेस निकटबाट रवीन्द्रबहादुर प्रजुको टीम घरदैलो थालेको छ । उता नेकपा निकटका दामु अधिकारी प्यानल अहिलेसम्म आधिकारिक घोषणा भैसकेको छैन ।
श्रोतका अनुसार प्यानल आन्तरिक रुपमा बनिसकेको छ । तर सार्वजनिक भने गरिएको छैन । प्यानलबाट पदाधिकारीमा चुनाव उठ्नेहरु लगभग दुवै प्यानलबाट फाईनल भैसकेको छ । प्रजु प्यानलका सातैजना भोट माग्न हिडिसकेका छन् । प्यानलबाट बरिष्ठ उपाध्यक्षमा नारायण कोइराला, उद्योग तर्फको उपाध्यक्षमा विन्दु कोइराला सुवेदी, वाणिज्य तर्फको उपाध्यक्षमा पवन प्रजापति, महासचिवमा अर्जुन पोख्रेल, कोषाध्यक्षमा सुरेन्द्रमान बिजुक्छे र उपमहासचिवमा चिनु गुरुङले दावेदारी प्रश्तुत गरेका छन् । पदाधिकारीका यी उम्मेदवारले एकसाथ विहिवारबाट घरदैलो अभियान सुरु गरेका हुन् ।
दामु अधिकारी नेतृत्वको प्यानल भने आन्तरिक गृहकार्यमै व्यस्त छ । उनको प्यानलबाट बरिष्ठ उपाध्यक्षमा यदु अधिकारी, उद्योग उपाध्यक्षमा गीता तिवारी, वाणिज्य उपाध्यक्षमा देवकृष्ण काफ्ले, महासचिवमा किसान सुनार, कोषाध्यक्षमा प्रेम भुजेल र उपमहासचिवमा सीता बराल उठ्ने लगभग टुंगिएको छ ।
प्रजु प्यानलमा निखारिएका र पूराना ब्यवसायीहरु उम्मेदवार बनेपछि कम्युनिष्ट प्यानललाई पनि सोही अनुसार उम्मेदवार चयन गर्न दवाव परेको छ । श्रोतका अनुसार केही उम्मेदवार हेरफेर हुन सक्ने बुझिएको छ । आगामी असोज ५ र ६ गते हुने संघको ३२ औं महाधिवेशनको निर्वाचन कार्यक्रम भने सार्वजनिक भएको छैन । तर मनोनयन दर्ता भदौ २५ गते हुने बताईएको छ ।