बक्सिङमा नेपालका मीनु र भूपेन्द्रले जिते स्वर्ण

 

काठमाडौं, मंसिर २३ ।

१३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत् बक्सिङमा नेपालले दुईओटा स्वर्णपदक जितेको छ ।

सोमबार सातदोबाटोस्थित कराते कर्भडहलमा भएको फाइनलमा मीनु गुरुङ र भूपेन्द्र थापामगरले नेपाललाई स्वर्णपदक दिलाएका हुन् ।

महिला ५४ केजी तौल समूहमा भारतीय खेलाडी शिक्षालाई हराएर मीनुले स्वर्णपदक जितेकी हुन् ।

त्यस्तै, भूपेन्द्रले ६४ केजी तौल समूहमा भारतकै खेलाडी मनीष कौशिकलाई हराएर स्वर्णपदक जितेका हुन् ।

नेपालबाट ९ खेलाडी फाइनलमा पुगेकामा दुई खेलाडीले रजतपदक जितेका छन् ।

४८ किलो तौल समूहमा ललिता महर्जनले र ६० किलो तौल समूहमा संगीता सुनारले रजत जितेका हुन् । ललिता र संगीतालाई फाइनलमा भारतीय खेलाडीहरुले पराजित गरेका हुन् ।

पाँच खेलाडीहरुको फाइनल खेल मंगलबार हुनेछ । ५१ केजीमा माला राई, ६० केजीमा सनिल शाही, ८१ केजीमा गणेश प्रधानसहित पाँचजनाले फाइनल खेल्दैछन् ।

महिला ५७ केजीको खेलमा चन्द्रकला थापा, पुरुष ५२ केजीमा तेजबहादुर देउवाले कास्यपदक जितेका छन् ।
(ईमेजखबरबाट साभार)