कास्की २ मा नेकपाले विद्या भट्टराईलाई उठाउने, जिल्लाबाट सर्वसम्मत सिफारिस

पोखरा, कार्तिक ८ ।
आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि कास्की क्षेत्र नम्बर २ मा नेकपाले विद्या भट्टराईको मात्रै नाम सिफारिस गरेको छ । शुक्रबार बसेको जिल्ला कमिटी बैठकले भट्टराईलाई उम्मेदवार बनाउन केन्द्रमा सिफारिस पठाएको हो ।

‘जिल्लाबाट सर्बसम्मत रुपमा एकमात्रै नाम सिफारिस भयो । सुरुमा मैले प्रश्ताव लगें । सबैले समर्थन गर्नुभयो,’ नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले भने, ‘अव वहाँ नै सर्वसम्मत उम्मेदवार बन्नुभएको छ, हाम्रो तर्फबाट । केन्द्रबाट पनि त्यही निर्णय होला ।’

सिफारिसमा परेकी भट्टराई तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीकी धर्मपत्नी हुन् । अधिकारीको गत फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परि निधन भएपछि कास्की २ रिक्त छ ।