महरालाई अझै तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतको अनुमति

 

काठमाडौं, असोज २८ ।

जिल्ला अदालत काठमाडौंले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अझै तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

जिल्ला न्यायाधीश दिपककुमार दाहालको इजलाशले अरु तीन दिन हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । महराका वकीलहरुले भने उनलाई रिहा गर्न माग गरेका थिए । उनलाई अब आउँदो आइतबार अदालतमा पेश गरिने छ ।

आफ्नै कार्यालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेका महरा असोज १९ गतेदेखि प्रहरी हिरासतमा रहेका छन् । अनुसन्धान नसकिएको भन्दै म्याद थपका लागि महरालाई मंगलवार अदालतमा उपस्थित गराइएको थियो ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले आफूमाथि बलात्कार प्रयास गरिएको भन्दै किटानी जाहेरी दिएपछि प्रहरीले महरालाई बालुवाटारस्थित सभामुख निवासबाटै असोज १९ गते पक्रेको थियो ।

सरकारी वकिल कार्यालयले पक्राउ परेको दिनदेखि लागू हुने गरी १३ दिन हिरासतमा राखेर महराबारे अनुसन्धान गर्न अनुमति दिन माग गरेको थियो । महरा दस दिन हिरासतमा बसिसकेका छन् । महरा बिरामी भएकोले उनको बयान लिन नसकिएको र बयान लगायतका अनुसन्धानका लागि अझै तीन दिन हिरासतमा राख्नुपर्ने सरकारी वकिल उमाकान्त पौडेलले बहसका क्रममा भनेका थिए।

जिल्ला अदालत काठमाडौंको अनुमतिमा प्रहरीले असोज १९ गते महरालाई पक्राउ गरेको थियो । दश दिन प्रहरी हिरासतमा रहेका उनलाई अदालत खुलेसँगै मंगलबार उपस्थित गराइएको हो ।

महरालाई अनुसन्धानका लागि थुनामा राखेपनि यो बीचमा दशैं र अरु सार्वजनिक बिदा परेकाले अदालतमा उपस्थित गराउन ढिलो भएको हो ।

प्रहरी हिरासतमा रहेका महराको मुटु र स्वाशप्रस्वासमा समस्या देखिएपछि गत विहीबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई त्यहीबाट अदालत लगिएको हो । अदालतबाट म्याद थप गरिएका महरालाई पुनः नर्भिक अस्पताल नै फर्काइएको छ ।

असोज १२ गते राति आफ्नै सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लागेपछि महराले सभामुख पदबाट राजीनामा दिएका छन् भने सांसद पद पनि निलम्बनमा परेको छ ।
(ईमेजखबरबाट साभार)