रवीन्द्रको क्षेत्रमा चुनाव लड्न वामदेवलाई प्रधानमन्त्री ओलीकै प्रस्ताव !

काठमाण्डौं, साउन १९ ।
प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेकपाका सचिवालय सदस्य वामदेव गौतमलाई कास्की २ बाट उपचुनाव लड्न प्रस्ताव गरेका छन् । यसअघि गौतम आफैले चाहना राखेर विभिन्न जिल्लाबाट उपचुनाव लड्ने इच्छा राखे पनि ओलीले नै प्रस्ताव गरेको यो पहिलो पटक हो ।

बालुवाटार स्रोतका अनुसार केही दिन अगाडि बसेको नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले नेता गौतमलाई रवीन्द्र अधिकारीको निधनपछि खाली भएको कास्की निर्वाचन क्षेत्रबाट चुनाव लडन् प्रस्ताव गरेका हुन् । ‘पार्टीले जिताउने पूरै कोशिष गर्छ । र, त्यो सम्भव पनि छ,’ प्रधानमन्त्री ओलीले गौतमलाई भनेको भनाई उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो, ‘तपाईं कास्कीबाट चुुनाव लड्नुस् ।’

तर, प्रधानमन्त्री ओलीको प्रस्तावमा गौतमले अन्तिम निर्णय नदिइसकेको स्रोतको भनाई छ । ‘पार्टी र रवीन्द्र अधिकारीको परिवारका सदस्यले निर्णय गरे मात्रै चुनाव लड्न सकिने मनस्थितिमा उँहा भएको देखिन्छ । तर हुन्छ, म चुनाव लडुछु, भन्ने उहाँको निर्णय आएको छैन,’ प्रधानमन्त्री ओली निकट स्रोतल भन्यो ।

यस अघि नेता गौतम काठमाडौं, डोल्पा, प्युठानलगायतका जिल्लाबाट चुनाव लड्ने इच्छा व्यक्त गरेका थिए । तर, पाटीभित्र सहमति जुटन नसक्दा उपचुनाव लड्ने उनको चाहना अधुरै रहेको थियो । विगतमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले नै गौमतलाई चुनाव लड्न रोकेको आंशका पनि गरिएको थियो । तर, ती आंशका चिर्दै प्रधानमन्त्री ओलीले अहिले आफै नै नेता गौमतलाई चुनाव लड्न प्रस्ताव गरेका छन् ।