अन्नपूर्ण बेसक्याम्पमा माछा र खसी बाहेकको मासु लैजान निषेध

पोखरा, फागुन २१ ।
कास्कीको अन्नपूर्ण बेस क्याम्पमा खसी र माछा बाहेकको मासु लैजान निषेध गरिएको छ । अन्नपूर्ण गाउँपालिकाले पर्यटन ब्यवसायीसँगको समन्वयमा खसी र माछाबाहेक मासु निषेध गरेको हो । अन्नपूर्ण सेञ्चुरी होटल समितिले पनि जथाभावी मासु लान नदिने निर्णय गरेको छ ।

विदेशी र केही नेपालीहरु समेत जाँदा मनपरी मासु बोकेर लैजाने गरेको भन्दै त्यसलाई रोक्न नयाँ निर्णय गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष यूवराज कुवँरले बताए । ‘अन्नपूर्ण क्षेत्र भगवान महादेवको बासस्थान हो । त्यहाँको धार्मिक महत्व फरक खालको छ, उनले भने–मनपरी मासु बोकेर जाँदा अनिष्ट भएको स्थानीयले बताएपछि खसी र माछा बाहेक लैजान प्रतिवन्ध लगाईएको हो ।’ उनका अनुसार प्रत्येक चेकपोष्टमा यसको निरीक्षण हुनेछ भने हेलिकोप्टरमा पनि चेकजाँच गरेर मात्रै पठाईनेछ ।

अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ का अध्यक्ष हिम गुरुङले पनि अन्नपूर्ण क्षेत्रमा अनिष्टताको संकेत देखिएको बताए । ‘अन्नपूर्ण बेस क्याम्प परम्परादेखि नै दैवि शक्ति भएको ठाउँ हो । पहिले हाम्रा पुर्खाहरुले कुखुरा, सुंगुर, भैसी लैजाने त परको कुरा, त्यहाँ बसेर कुरा पनि गर्दैनथे, उनले भने–अहिले अवैध रुपमा मनपरि मासु सप्लाई भयो । अरु ब्यापारीले पनि लगेको हुँदा बाध्यताबस रोक्नुपरेको हो । बेलाबेलामा हाम्रो ठाउँमा प्रकृतिले पनि दुख दिने गरेको छ ।’ स्थानीय, होटल ब्यवसायी, प्रशासन र गाउँपालिकाको संयुक्त समन्वयमा मासु ब्याण्ड गरिने उनले बताए ।

‘हिमाली क्षेत्रमा हिउँ पहिरो सामान्य नै हो । आईरहन्थ्यो पहिले पनि, उनी भन्छन्–तर अन्नपूर्ण बेस क्याम्पमा कहिल्यै झरेको थिएन । मैले कुनै अनुभव पाईन । अहिले होटलका छाना पनि उडाएछ । यस्तो घटना अहिलेसम्म भएको थिएन ।’ धर्ममाथी जथाभावी गरेका कारण यस्तो घटना घटेको उनको भनाई छ । अधिकांश गाउँलेहरु पनि धार्मिक अनिष्ट भएको बताउँछन् ।