२६ वर्षमा ४५ हजार एनजीओ थपिए
काठमाण्डौं, फागुन ४ ।
मुलुकमा गैरसरकारी संस्था (एनजीओ)को जालो यति धेरै बढेको छ कि विकट गाउँबस्तीदेखि सहरका महलसम्म एनजीओको पहुँच छ । सामाजिक सेवा, विकास र गरिबी निवारणको लक्ष्य लिएर स्थापना भएका गैरसरकारी संस्थाका सञ्चालकले एनजीओलाई सामाजिक सेवाभन्दा पनि नाफा कमाउने माध्यम बनाएका छन् ।
एनजीओको विकृति यति धेरै बढेको छ कि कैयौँ एनजीओमा अध्यक्ष, महासचिव तथा कोषाध्यक्षका रूपमा एकै व्यक्ति १५ वर्षदेखि लगातार कार्यरत रहेको समाजकल्याण परिषद् स्रोतले जानकारी दिएको छ । कैयौँ एनजीओले नियमित रूपमा लेखा परीक्षणसमेत नगरेको र अपारदर्शी किसिमले खर्च गर्ने गरेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।
‘केही अपवादलाई छोडेर धेरै एनजीओ व्यक्ति विशेषका नाफा कमाउने माध्यम बनेका छन्,’ मन्त्रालयका एक उच्च अधिकारीले भने। उनले मुलुक एनजीओको जालोमा घेरिनु दुर्भाग्यपूर्ण भएको भन्दै चिन्ता व्यक्त गरे । समाजकल्याण परिषद्का अनुसार विगत २६ वर्षको अवधिमा मात्रै मुलुकमा ४५ हजार एनजीओ थपिएका छन् । त्यसरी थपिएका एनजीओले आफ्नो लक्ष्यअनुसार काम गरे नगरेको बारेमा भने सरकारी निकायले कुनै अनुगमन गर्न सकेका छैनन् ।
एनजीओको अनुगमन शून्य अवस्थामा रहेको परिषद्का पदाधिकारीले नै स्वीकार्ने गरेका छन् । समाजकल्याण परिषद्का अनुसार गैरसरकारी संस्थाहरूले वार्षिक रूपमा अर्बौँ रुपैयाँको कारोबार गर्ने गरेका छन् । आर्थिक वर्ष २०७४र७५ मा मात्रै विभिन्न एनजीओले परियोजना र कार्यक्रमका नाममा २० अर्बभन्दा बढी रुपैयाँ खर्च गरेको परिषद्ले जनाएको छ ।, राजधानी दैनिकमा खबर छ ।