बसको ठक्करले मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु
बाँके, फागुन २ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको बाँके जङ्गलमा आज बिहान बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बाँके जङ्गलस्थित सशस्त्र प्रहरीको वेश क्याम्प नजिक भएको दुर्घटनामा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ का ४० वर्षका बैकुण्ठमणि धितालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज बिहान साँढे ११ बजेतिर काँकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ४ ख ६७३० नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकलको कागजात नवीकरण गर्न जनकपुरतर्फ जाँदै गरेका धितालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा बसको स्टेरिङ फेल भएर अनियन्त्रित हुँदा मोटरसाइकलसँग ठोक्किन्न पुगेको ईलाका प्रहरी कार्यालय केशरगञ्ज, बयलवासका प्रहरी निरीक्षक गौरव महतले बताउनुभयो ।
मोटरसाइकललाई ठक्कर दिने बसकै ठक्करले वीरगञ्जबाट जनकपुरका लागि छुटेको ना ३ ख ९४६६ नम्बरको बसमा समेत सामान्य क्षति पुगेको छ । तर, दुवै बसका यात्रु भने सकुशल रहेका प्रहरी निरीक्षक महतले जानकारी दिनुभयो । दुर्घटनापछि बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।