परपुरुषसँगको सम्बन्धबारे पोल खुल्ने डरले प्रेमीसँग मिलेर छिमेकीको हत्या

जनकपुर, मंसिर २८ ।
हत्या गरेको आरोपमा महोत्तरीबाट प्रेमी–प्रेमिका पक्राउ परेका छन् । औरही नगरपालिका वडा नं २ फुलबरीया बस्ने ४० वर्षीय बेचु महतोको हत्याको आरोपमा सोही ठाउँका ३० वर्षीय सुशील सहनी र २९ वर्षीया जितनी महतो पक्राउ परेका हुन् ।

गत बुधबार बिहान गाउँभन्दा ५ सय मिटर पूर्व उखुबारीमा मृत अवस्थामा बेचु महतोको शव फेला परेको थियो । इलाका प्रहरी कार्यालय गौशलाका इन्चार्ज इन्स्पेक्टर किशोर आचार्यका अनुसार अनुसन्धानको क्रममा पक्राउ परेका जितनीले आफू र सुशील मिलेर हत्या गरेको बयान दिएकी छन् ।

मंगलबार साँझ बेचु आफ्नो खेततर्फ जाँदै गइरहेको बेला लहरीबोटले घाँटी च्याप्दै उखुबारीमा लगेर हत्या गरेको जितनीले स्वीकार गरेकी छन् । घटनास्थलमा भेटिएको मास्क र टोपीको आधारमा अनुसन्धान गर्दा सुशीलसम्म पुग्न सफल भएको प्रहरीले जनाएको छ । उनको शव बुधवार बिहान उखुबारीमा फेला परेको थियो । मृतकको घाँटीमा नीलडाम देखेपछि घाँटी थिचेर हत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको थियो ।

सुशील र जितनीबीच सम्बन्ध रहेको बेचुले थाहा पाएका थिए । गाउँमा आफ्नो पोल खुल्ने डरले खेतमा गएका बेचुलाई प्रेमी सुशीलसँग मिलेर हत्या गरेको उनले बयान दिएको आचार्यले बताए । जितनीका श्रीमान् रोजगारीको सिलसिलामा काठमाडौं बस्दै आएका छन् । जितनीको गर्भमा ७ महिनाको बच्चासमेत रहेको प्रहरीको भनाइ छ ।

मृतकको जनकपुर अञ्चल अस्पतालमा पोस्टमार्टम गरिएको छ भने पक्राउ परेका आरोपीहरुलाई आज २ बजे जिल्ला प्रहरी कार्यालय महोत्तरी पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने प्रहरीको तयारी छ । मंगलबार राति घरबाट भागेका सुशीललाई भारतीय प्रहरीले नेपाल–भारत सीमाबाट गएराति समातेर जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई जिम्मा लगाएको थियो ।