साहित्यकार सरस्वति प्रतिक्षा र ब्यवासायी ठाकुर पन्तको ‘डिभोर्स सेलिब्रेसन’ !
पोखरा, मंसिर २२ ।
पछिल्लो पुस्ताकी धुवाँदार कवि सरस्वति प्रतिक्षाले विहिबार साँझपख पुर्वपतिसँगै बसेको एउटा फोटो र दुई लाईन स्टाटस फेसवुकमा पोष्ट गरिन् । केही मलिन र अलिकति मात्रै खुशीजस्तो देखिने तस्विरको सिरानमा यस्तो स्टाटस थियो–‘सम्बन्ध बिच्छेद गरेको आजबाट ठिक तीन वर्ष पूरा भएर चार वर्ष लागेको उपलक्ष्यमा ठाकुरजीसँग भेटेर लन्च गरियो । सम्बन्ध बिच्छेदपछि आ–आफूले बाँचेको जीवनको समीक्षा पनि गरियो । सेलिब्रेट गर्न जान्यो भने सम्बन्ध बिच्छेद समेत एक उत्सव बनिदिदो रहेछ ।’
उनको यो फोटो र स्टाटसमा धेरैले धेरै किसिमको कमेण्ट गरेका छन् । फेसवुकमै १ हजार भन्दा बढी कमेण्ट र ३ हजार भन्दा बढी लाईक तथा ५ सय हाराहारीमा उनको स्टाटस र फोटो शेयर भएका छन् । उनको यो फोटोमा अधिकांशले आश्चर्य देखाएका छन्, केही नमूना उदाहरण ठानेका छन् भने केहीले चाहीँ गाली गरेर प्रतिक्रिया दिएका छन् ।
नेपालमा लगभग पहिलो नै मान्नुपर्छ, पूर्वपतिसँग लञ्च गरेर खुशीसाथ स्टाटस र फेसवुक पोष्ट गरेको यो घटना । सम्वन्ध विच्छेद गरेका जोडीहरु हम्मेसी आपसमा भेट हुन चाहँदैनन् । डेट गर्ने त निकै टाढाको कुरा । उनीहरु एक–अर्काप्रति अनेक तुष पालेर बसेका हुन्छन् । तर, साहित्यकार सरस्वती प्रतीक्षा यसमा अपवाद देखिइन् ।
पर्यटनमन्त्री रवीन्द्र अधिकारीले लेखेका छन्, ‘हो नि, राम्रै भयो ।’ कानून मन्त्रालयका सहसचिव फणिन्द्र गौतमले कटाक्ष गर्दै लेखेका छन्, ‘सम्बन्धको स्मशानलाई आदर्श नठानौं साहित्यकारज्यू ।’ सरस्वती थकाली बाबु र बाहुनी आमाकी छोरी हुन् । बाबुआमाजस्तै उनले पनि अन्तरजातीय विवाह गरेकी थिइन् । उनलाई पोखराका प्रख्यात साहित्यकार सरुभक्तले ०५५ सालमा धर्मपुत्री बनाएका थिए । उनी आफूलाई जन्मदिने पिताभन्दा धर्मपितालाई महत्व दिन्छिन् ।
लेखनमा आउनुभन्दा अगाडि उनी कम्युनिस्ट राजनीतिमा सक्रिय थिइन् । अहिले पनि उनको कलममा माक्र्सवादी र महिलावादी चिन्तन बढी झल्किन्छ । यद्यपि उनले आफू पहिले मान्छे, अनि मात्र स्वास्नीमान्छे भएको बताउने गरेकी छन् ।
सरस्वती र ठाकुरका एक छोरा छन् । श्रीमानसँग डिभोर्सपछि आफ्नो हिस्साको सम्पत्ति लिएर सरस्वती पोखरामा बस्दै आएकी छिन् । छोरा उनीसँगै बस्छन् । उनका पूर्वपति ठाकुर पनि पोखरामै बस्छन् । उनी एक व्यवसायी हुन् ।