२२ वर्षीय युवकको कुटपिट गरी हत्या

रुकुम, मंसिर २० ।
रुकुम पश्चिममा जिल्लाको आठबीसकोट नगरपालिका–५ का २८ वर्षीय धनबहादुर विकले सोही वडाका २२ वर्षीय रविन सार्कीको हत्या गरेका छन् । व्यक्तिगत रिसका कारण विकले सार्कीमाथि कुटपिट गरेका थिए । गत मंसिर ७ गते आठबीसकोटको राडीबाट घरतर्फ जाँदै गर्दा विकले वडा नं ४ गिदीविसा भन्ने ठाउँमा सार्कीमाथि कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार सार्कीले उक्त घटना हुनुभन्दा पहिला विकलाई कुटपिट गरी घाइते बनाएको र त्यसको उपचारका क्रममा खर्च भएको २ हजार नदिएपछि विकले सार्कीलाई कुटेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।

घटनाको अनुसन्धान भइरहे पनि प्रारम्भिक अनुसन्धानका क्रममा २ हजार नदिएकै झोंकमा विकले सार्कीलाई कुटपिट गरेको खुलेको प्रमुख नायब उपरीक्षक खड्काले बताए ।

सार्कीको उपचारका क्रममा गत मंसिर ११ गते मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको थियो । कुटपिटपछि फरार भएका विकलाई मंसिर १० गते नै जाजरकोटको बगराबाट पक्राउ गरे पनि प्रहरीले आज सार्वजनिक गरेको हो । जिल्ला अदालतबाट म्याद थपी घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।