हवाई क्षेत्रमा नयाँ नियम–दुर्घटनामा ज्यान गुमाए नेपालीले पनि २ करोड पाउने

काठमाण्डौं, मंसिर २८ ।
हवाई यात्रुको बीमासम्बन्धी अन्तराष्ट्रिय मोन्ट्रियल सन्धि १९९९ नेपालमा शनिवारदेखि कार्यान्वयनमा आउँदैछ । यो महासन्धि लागू भएसँगै अन्तराष्ट्रिय उडान गर्ने नेपालीले बीमा बापत न्यूनतम १ लाख १३ हजार १०० स्पेशल ड्रइङ राइट्स (एसडिआर) पाउनेछन् । यो भनेको करिब १ लाख ६६ हजार ९ सय ७८ डलर हो । एसडिआर अन्तराष्ट्रिय मुद्रा कोषले तय गरेको अपरिवर्तनीय विनियमदर हो ।

शनिबारदेखि अन्तराष्ट्रिय उडान गर्ने हवाई यात्रुले यो व्यवस्थाअनुसार बीमा दाबी गर्न सक्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुले बताएका छन् । सन्धि लागू भएसँगै अन्तराष्ट्रिय उडान गर्ने नेपाल एयरलाइन्स, हिमायल एयरलाइन्स र बुद्ध एयरबाट अन्तराष्ट्रिय उडान गर्ने यात्रुले दुर्घटना भएको खण्डमा करोडौंसम्म बीमा बापतको रकम पाउनेछन् ।

महासन्धि अनुमोदन गरेका अन्य मुलुकबाट नेपाल आउने अन्तराष्ट्रिय एयरलाइन्सका यात्रुहरुका हकमा पनि सो व्यवस्था लागू हुने संस्कृति पर्यट तथा नागरिक उड्यन सहसचिव सुद्धिसागर लामिछाने बताउँछन् । सन्धि अनुमोदन नगरेका मुलुकबाट उडान गर्ने वायुसेवा कम्पनीका हवाई यात्रुका हकमा यो लागू नहुने उनले बताए ।

नेपालले भर्खरै कार्यान्वयनमा ल्याएको यो महासन्धि १३४ देशले यसअघि नै अनुमोदन गरिसकेका छन् । नेपाल १३५ औं हो । मोन्ट्रियल सन्धि कार्यान्वयन हुँदा हवाई यात्रु घाइते वा मृत्यु भएमा वायुसेवा कम्पनीले परिवारलाई २ कारोड रुपैयाँको हाराहारीमा बीमा बापतको रकम दिनुपर्ने हुन्छ । यसअघि यो रकम २० हजार अमेरिकी डलर रहेको थियो । त्यो भनेको २० लाख हाराहारी हो ।