सोलारको ब्याट्री पड्किएर घर जल्यो, तीनजनाको मृत्यु
दाङ, मंसिर २८ ।
दाङस्थित एक घरमा आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ । जिल्लाको बंगलाचुली गाउँपालिका वडा नम्बर ८ गुराँसेका नवराज पुनको घरमा आगो लाग्दा उनका एक छोरा र दुई छोरीको ज्यान गएको हो ।
आगलागीमा परी ७ वर्षीय कृष्णबहादुर पुन, ५ वर्षीया अस्मिता पुन र अढाई वर्षकी अन्जु पुनको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । पुनको एक वर्षीय छोरा बिरामी भएका कारण तीन छोराछोरीलाई घरमा सुताएर नवराजकी श्रीमती झारफुक गराउन गाउँ गएका बेला बिहीबार राति ८ बजेतिर आगलागी भएको दाङ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।
नवराज भने घरमा नरहेको बताइएको छ । सोलारको ब्याट्री पड्किएर आगलागी भएको प्रहरीको अनुमान छ । हाँसीपुर प्रहरी चौकी र स्थानीयको सक्रियतामा राति १२ बजे आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट घरमा रहेका सामानका साथै सात गाई र चार बाख्रासमेत जलेर नष्ट भएका छन् ।
जुत्ता पसलमा आगलागी हुँदा पाँच करोड क्षति
दाङकै तुलसीपुर बजारस्थित जुत्ता पसलमा शुक्रबार भीषण आगलागी भएको छ । तुलसीपुर–५ वीरेन्द्र चोकनजिक भीम घिमिरेले आफ्नै घरमा सञ्चालन गर्दै आएको जुत्ता(चप्पलको होलसेल पसलमा बिहान सवा ६ बजेतिर आगलागी भएको हो ।
घरधनी घिमिरेले आलागीबाट पाँच करोडभन्दा बढीको धनमाल क्षति भएको बताएका छन् । तीन तलाको घरभित्र रहेका सम्पूर्ण समान जलेर नष्ट भएका छन् । विद्युत सर्ट भएर आगो लागेको अनुमान गरिएको छ । आगलागी भएको समयमै थाहा पाएपछि घरमा भएका सबै मानिस बाहिर निस्किएकाले मानवीय क्षति भने नभएको बताइएको छ ।
आगो निभाउन तुलसीपुर उपमहानगरपालिकाको दमकल, पानी ट्यांकरका साथै घोराही उपमहानगरपालिकाको दमकल झिकाइएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय व्यवसायी, तुलसीपुरबासीको दुई घण्टाको अथक प्रयासपछि आगो नियन्त्रणमा आउने क्रममा रहेको स्थानीयले बताएका छन् ।