सुन कसरी भयो तामा ? प्रहरीले थाल्यो छानबिन
काठमाण्डौं, माघ ९ ।
सुन भनेर बरामद गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक धातु परीक्षणमा तामा र ढलोट भएको घटनाको प्रहरी प्रधान कार्यालयले छानबिन सुरु गरेको छ ।
प्रहरीको अपराध अनुसन्धान विभागले जिल्ला प्रहरी कार्यालय धादिङसँग मंगलबार स्पष्टीकरण लिएको छ । जिल्ला प्रहरी कार्यालय धादिङले तीन साताअघि तीनजनालाई चार किलो सुनसहित पक्राउ गरी राजस्व अनुसन्धान विभागमा पठाएको थियो ।
परीक्षणका क्रममा सो धातु तामा र ढलोट भएको खुलेको थियो । तर, बरामद गरिएको सुन नै भएको र पछि चलखेल भएको आशंका गरिएको छ । सुन भनेर बुझाएको धातु अन्य भएको खुलेपछि साटफेर भएको आशंका राजस्व अनुसन्धान विभागका अधिकारीले नै गरेका छन् । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।