साझा पार्टीको कास्की जिल्ला समिति बिस्तार

 

पोखरा, असोज ११ ।

साझा पार्टी कास्कीको जिल्ला समिति विस्तार भएको छ । केहीदिन अगाडि कास्कीको जिल्ला संयोजकको रुपमा पार्टीले अर्जुन खनाललाई नियुक्त गरेसँगै जिल्ला समिति निर्माणको थालनी भएको थियो ।

आफू संयोजक भैसकेपछि खनालले पहिलो कामको रुपमा जिल्ला कार्यसमितिको विस्तार गरेका हुन् । पहिलो चरणमा १३ सदस्यीय कार्यसमिति निर्माण गरिएको जिल्ला संयोजक खनालले जानकारी दिए ।

जिल्ला समितिमा लिलाधर लामिछाने, तिलक खत्री, अशोक खड्का, अरुण पौडेल, विश्वराज पौडेल, फडिन्द्रमोहन कँडेल, एकराज न्यौपाने, फडिन्द्र अधिकारी, इन्दिरा आचार्य, नारायणी कोईराला, दिलिप न्यौपाने र कृष्ण पोखरेल पहिलो चरणमा सदस्य नियुक्त भएको पार्टीले जनाएको छ । जिल्ला समिति अन्तर्गत पार्टीको महानगर संयोजक समेत रहेका मनकाजी गुरुङ पदेन सदस्य रहेका छन् ।

साझा पार्टीको जिल्ला संयोजक खनालले जिल्ला समितिलाई चरणबद्ध रुपमा विस्तार गर्दै लैजाने बताएका छन् । विधान अनुसार साझा पार्टीले ४५ सदस्यीय जिल्ला समिति बनाउन सक्ने खनालले बताएका छन् । चाँडै नै विधानले दिएको संख्या अनुरुप समिति निर्माण भैसक्ने उनले बताए ।

यसैबीच मंसिरमा हुने उपनिर्वाचनलाई लक्षित गर्दै साझा पार्टीले वडास्तरिय कमिटि निर्माणलाई पनि गति दिने जनाएको छ । पार्टीले दशैँलगत्तै कास्कीका हरेक वडामा कमिटि विस्तार गर्ने जनाएको छ । उपनिर्वाचनमा जित्ने गरि माहौल बनाउनका लागि पनि पार्टीले तल्लो तहमा पनि आफ्नो संगठन विस्तार गर्ने बताएको छ ।

त्यसैगरि पार्टीले जिल्ला स्तरमा उपनिर्वाचनका लागि उम्मेदवारीको आवेदन आह्वान समेत गरेको छ । उपनिर्वाचनमा उम्मेदवारी दिन चाहनेले पार्टीको कार्यालयमा कारणसहित आवेदन बुझाउनुपर्ने नियम बनाएको खनालले बताए । कार्यालयमा आएका आवेदनहरुमध्ये उत्कृष्टताका आधारमा जिल्ला समितिले उम्मेदवार सिफारिश गर्ने उनले बताए ।